जुम्ला ः जुम्लाबाट नेकपाको केन्द्रीय कमिटिमा दुई जना मनोनयनमा परेका छन् । उनीहरु दुवै जना तत्काालिन माओबादी केन्द्रबाट मनोनित भएका हुन् । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महत (कार्मा ) तत्कालिन माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य हुन भने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका नरेश भण्डारी पोलिटव्युरो सदस्य तथा वृद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष हुन् । नव गठित पार्टीमा जुम्लाबाट मात्रै दुई जनाको प्रतिनिधित्वलाई जुम्लवासीले सकारात्मक रुपमा लिएका छन् । उनीहरुको प्रतिनिधित्वलाई नेकपाको दिर्घकालिन सरकार बनेकोले पनि जुम्लाले विकासमा फड्को मार्ने आशा जुम्लावासीको रहेको छ ।
सांसद महत र प्रदेश कानुनमन्त्री भण्डारी विकासप्रेमी नेता मानिन्छन् । २०७० सालको सविंधान सभाको निर्वाचनमा पराजित महत विगत देखि नै जुम्लाको आर्थिक, सामाजिक, पर्यटन, विद्युत लगायतका विषयमा निरन्तर आवाज उठाउदै आएका छन् भने पछिल्लो समय २०७४ मा भएको संघिय चुनावमा नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए । अहिले पनि प्रतिनिधि सभामा साविकको कर्णालीका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद मध्य विकासप्रेमी नेताको रुपमा चिनिन्छ । संसद बैठकमा आफ्नो निर्वाचन क्षेत्रको विकास र जनतासंग गरेका बाचा पुरा गर्न निरन्तर आवाज उठाई रहेका छन् भने भण्डारीले २०६४ सालमा पहिलो सविंधान सभाको चुनाव जितेका थिए । मन्त्री भण्डारीकै पहलमा बनेको जुम्लामा पश्चिम नेपालकै स्वास्थ्य केन्द्रको रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा छ । २०७४ सालमा सम्पन्न प्रदेश निर्वाचनमा मुख्य मन्त्रीको आकांक्षीका रुपमा निर्वाचनमा नेपाली कांग्रेसका राजसिंह कठायातलाई पराजित गर्दै विजयी भएका थिए । अहिले भण्डारी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । जुम्लाबाट दुई जना केन्द्रीय सदस्यमा मनोनित भएपछि जुम्लीबासीले प्रत्यक्ष वा टेलिफोन र सामाजिक संजालबाट बधाई ज्ञापन गरिरहेका छन् ।