गिडिदह प्राकृतिको जिवित अमर कविता

गिडिदहको यात्रा बर्खायामको अविरल वर्षासँगै मनमा अनगिन्ती सपना बोकेर, गिडिदहको सौन्दर्यलाई कल्पनामा हजारौँ पटक कोर्दै यात्रा सुरु हुन्छ। समुद्री सतहबाट झन्डै ४,५०० मिटरको उचाइमा पुग्दा साँच्चै सासले नै साथ छोड्ला जस्तो यो अनुपम गन्तव्य पुग्न सजिलो छैन। झन्डै ३,४०० मिटर गिडिदह उचाइसम्मको कठिन उकालो, ढुङ्गाका चट्टानै चट्टानले भरिएका गोरेटोहरू, घना जङ्गल, भिर–पाखा र लेकका अप्ठ्यारा बाटाहरू छिचोल्दै पाइला अगाडि बढाउनुपर्छ।

कहिले वर्षाको झरीले भिजाउँछ, कहिले हावाको चिसो झोक्काले शरीर कामाउँछ, तर मनमा गिडिदह पुग्ने रहर भने झन् बलियो हुँदै जान्छ।”कहिले ढुङ्गाका ओडारमा ओत लागेर रात बित्छ, कहिले रुखको फेदलाई सिरानी बनाएर निद्रा खोजिन्छ। भोक, तिर्खा, वर्षा र थकानसँग जुध्दै अघि बड्छ यात्रा

लामो यात्राले शरीर थकित भइसकेको हुन्छ, सासहरू गह्रौँ बनेका हुन्छन्, अनुहार धुलो, पसिना र यात्राको कठिनाइले मलिनिएको हुन्छ। तर जब अन्ततः गिडिदहको आँगनमा पाइला टेकिन्छ, त्यही क्षण सबै दुःख, संघर्ष र थकान एकैपटक ओझेलमा पर्छन्।

कर्णालीको काखमा नीलो मोतीझैँ टल्किरहेको गिडिदहको पहिलो दृश्यले मनलाई यति गहिरोसँग छुन्छ कि आँखाहरू आफैँ रसाउन थाल्छन्। त्यो आँसु दुःखको होइन, प्रकृतिको अनुपम सौन्दर्यसँग भएको साक्षात्कारको आनन्दको आँसु हो। लाग्छ, यति लामो यात्रा, यति धेरै दुःख र यति धेरै संघर्ष यही एक क्षणका लागि थियो।

हरियाली डाँडाकाँडाले अँगालो हालेको दह, पानीमाथि नाचिरहेका बादलका छायाहरू, शीतल हावाको स्पर्श र हरेक जातका चराचुरुङ्गीको मधुर चिरबिराहटले यहाँको वातावरणलाई स्वर्गीय बनाइदिन्छ। यहाँ पुग्दा प्रकृतिले आफ्नै काखमा राखेर थाकेको मनलाई सुम्सुम्याइरहेझैँ लाग्छ। हावाको प्रत्येक सुसाइले मनका पीडा बगाएर लैजान्छ, पानीको प्रत्येक लहरले नयाँ आशा जगाउँछ।

बिहानीको सुनौलो घाम दहको जलसतहमा छरिँदा मानौँ प्रकृतिले सुनका अक्षरले कविता लेखिरहेको हुन्छ। बादलका टुक्राहरू दहको माथि खेलिरहँदा र वरिपरिका पहाडहरूले त्यसलाई अँगालो हालिरहँदा गिडिदह पृथ्वीमा झरेको स्वर्गभन्दा कम लाग्दैन।

गिडिदह केवल एउटा दह होइन। यो संघर्षपछि प्राप्त हुने आनन्दको अनुभूति हो। यो थकानपछि भेटिने शान्ति हो। यो प्रकृतिले आफ्नै हातले कोरेको जीवित चित्र हो। यो जुम्लाको गौरव, कर्णालीको गहना र प्रकृतिप्रेमीहरूको सपनाको गन्तव्य हो।

त्यसैले गिडिदह पुगेर फर्किनेहरू केवल दृश्य बोकेर फर्कँदैनन्; उनीहरू मनभित्र प्रकृतिप्रतिको प्रेम, आत्मामा शान्ति र आँखाभरि अविस्मरणीय सम्झना लिएर फर्कन्छन्। गिडिदह साँच्चै एउटा दह मात्र होइन, मनै चिस्याउने, आत्मालाई छुने र आँखाबाट आनन्दका आँसु झार्ने प्रकृतिको अमर कविता हो।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस