
कर्र्णाली र प्रदेश ७ का विभिन्न स्थानमा राउटेको बसोबास छ । अहिले गुराँस गाउँपालिका–८ स्थित गर्चे खोलामा बस्दै आएका राउटेलाई परिचयपत्र दिन लागिएको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए ।
‘राउटेका लागि परिचयपत्र छपाइको काम भइसकेको छ । केही दिनमै परिचयपत्र वितरण गर्छौं,’ अध्यक्ष वलीले भने । उनीहरूलाई प्रदान गरिने परिचयपत्रमा नाम, थर र ठेगाना उल्लेख हुने जनाइएको छ । परिचयपत्रले सरकारी सेवा र सुविधा लिन सहयोग पुग्ने उनको भनाइ छ ।
उनीहरू आफूलाई जंगलको राजा ठान्छन् । प्रायः जंगलमै बसोबास गर्दै आएका उनीहरू एकै ठाउँमा बस्दैनन् । काठका भाँडाकुँडा बनाएर बिक्री गर्छन् ।
शिक्षा र स्वास्थ्यमा सवा करोड
राउटे समुदायकालाई स्वास्थ्य र शिक्षाको पहुँचमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि संघीय सरकारले एक करोड २८ लाख विनियोजन गरेको छ ।
गुराँस गाउँपालिकाले पनि उनीहरूको शिक्षा र स्वास्थ्यतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरेको छ । उनीहरूको उपचारका लागि एकजना स्वास्थ्यकर्मी र बालबालिकालाई पढाउनका लागि एकजना शिक्षकको व्यवस्था गरेको छ । ‘दरबन्दी सिर्जना गरिसकेका छौँ, परिचयपत्र वितरण गरेपछि बस्तीमै गएर सेवा प्रदान गर्छौं,’ गाउँपालिका अध्यक्ष वलीले भने ।
भत्ता पाउन सजिलो
राउटे पनि परिचयपत्र लिन इच्छुक देखिएका छन् । परिचयपत्र नहुँदा सरकारले दिने भत्ता पाउन अप्ठ्यारो भएको उनीहरूको भनाइ छ । स्थायी ठेगानासहितको परिचयपत्र भए सरकारी भत्ता बुझ्न सजिलो हुने राउटेका मुखिया सूर्यनारायण शाहीले बताए ।
‘सरकारले भत्ता दिन्छ, तर कहाँबाट लिने भन्नेमा समस्या भइरहन्छ,’ मुखिया शाहीले भने, ‘एकै ठाउँमा बसेको परिचयपत्र भएपछि भत्ता लिन सजिलो हुनेछ ।’
nayapatrikadaily.com