अपराधिक घटनाले जुम्ली नागरीक त्रसित, सुरक्षा चुनौती चुलिदैँ  

नन्दराम जैसी

जुम्ला । गएको पुस महिनामा कर्णाली यातायात ब्यवसायी संघ जुम्लाका कोषाअध्यक्ष लक्ष्मी उपाध्ययायलाई अज्ञात समुहले घर नजिकै आगो लगाएर हत्या गर्र्यो । उक्त घटनाबाट त्रसित बनेका जुम्ली नागरीकहरु सो घटनाको अनुसन्धान पुर्ण नहुदैँ फेरी अर्को घटनाबाट ठुलै त्रसित बनेका छन् । गत आईतबार नयाँ शक्ति पार्टी केन्द्रीय सदस्य तथा पुर्व जुम्ला जिल्ला संयोजक राधाकृष्ण बुढ्थापाको एक समुहले हत्या गरेपछि जुम्ली नागरीक अपराधिक घटनाबाट डराएका हुन् । सोमबार राति मात्र जिल्ला प्रशासन नजिक तथा प्रहरी बिट अगाडीकै एक ठुलो पसल चोरी भयो । साउन महिनामा मात्र अपराधिक क्रियाकलापबाट जिल्लामा तिन जनाको मृत्यु भएको छ ।

यसरी जिल्लामा पछिल्लो समय श्रृखलाबद्ध बढ्दै गएका अपराधिक घटनाले सुरक्षा चुनौती पनि थपिएको छ । क्रमश हत्या, चोरीडकैती, बलात्कार, घर आगलागी लगायतका गम्भिर प्रकृतिका अपराधिक घटनाले नागरीकहरु असुरक्षित महशुस गर्न थालेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले जिल्लाको शान्ती सुरक्षा अवस्था बढियो बनाउँन नसक्दा अपराधिक घटना बढेको नागरीक समाजका सचिब सरोज शाहीले दावी गरे । ‘आफ्नै आफन्तजन तथा नजिकका साथिभाईबाट अपराधिक क्रियाकलाप भैरहेका छन्, यसले गर्दा समाजमा नागरीकले डरै डरले जिउनु परेको छ, उनले भने ।’

जिल्लामा बढ्दै गएको अपराधजन्य घटनाको सम्बन्धमा मानव अधिकार सम्बन्धीका घटना हुनुको पछि राज्यको सुरक्षा अवस्था कमजोर भएको महिला अधिकारकर्मि लक्ष्मीकन्या बुढाले बताईन् । पारिवारिक कलह, वेरोजगारी र युवामा बढ्दै गएको बेरोजगारी र सुरक्षा व्यवस्था कमजोरको उपज अपराधिक क्रियाकलाप बढेको उनको भनाई छ । यता राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनलाई जुम्लाको शान्ति सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
आयोगका शाखा प्रमुख रमेश कुमार थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जिल्लामा केहि दिन यता घटेका विभिन्न आपराधिक घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । आयोगले घटना सम्बन्धमा अनुगमन पनि गरिरहेको छ । आत्महत्या भनिएका तथा विभिन्न आपराधिक घटनाहरु घटिरहेका र बेवारिसे शवहरु भेटिएको आयोगको अनुगमनले देखाएको छ ।
के गर्दै छ, प्रशासन
स्थानीय प्रहरी प्रशासनबाट अपराधिक घटनाहरुको अनुसन्धान भइरहेको बताईएपनि घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा आमनागरिकले भयभित एवं असुरक्षित महसुस गरेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले श्रृखलाबद्ध अपराधका घटना बढ्दै गएपनि जिल्लाको सुरक्षा अवस्था मजबुद भएको दावी गरे । खुला मदिरा बिक्रि बितरण र अत्यधिक सेवनले अपराधका घटना बढेको भन्दै मदिरा नियन्त्रण अभियान शुरु हुने उनले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको पहलमा वुधवार बसेको सर्वपक्षिय सर्वदलिय वैठकले जिल्लामा अवैध मदिरा नियन्त्रण गर्ने निर्णय गरेको छ । भदौ एक देखि लागुहुने गरी जिल्लाका सबै स्थानिय तह र प्रमुख बजार क्षेत्रमा मदिरा नियन्त्रण अभियान शुरु गर्ने सबै तहले प्रतिबद्धता जनाएका छन् ।

हरेक दिन वेलुकी ९ बजेपछि राति होटल तथा पशल व्यवसाय वन्द गर्ने र आवश्यकता अनुसार स्थानीय तहहरुले आआफ्नो बजार क्षेत्रमा सिसिटिभी र सुरक्षा साईरन जडान गर्न निर्णय भएको छ । निर्णय कार्यान्वयनका लागि चन्दननाथ नगरपालिकाले सवै वडामा सो सूचना पठाएको कार्यवाहक मेयर अप्सरादेवि न्यौपानले बताईन् । उनले भनिन्, ‘महिला हिंसाको समेत ठूलो कारकतत्व मदिरा हो, जथाभावी मदिरा प्रयोग गरेर हल्ला गर्ने प्रति वडा स्तरका निगरानी समितिले काम गर्नेछन् ।’ प्रहरीका अनुसार आर्थिक वर्ष २०७२ देखि ०७५ सम्म महिला र पुरुष गरी २८ जनाले झुण्डिएर मात्र आत्महत्या गरेको तथ्यांक छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस