
सागर परियार
जुम्ला । तिला गाउँपालिका ६ कि, लक्ष्मी रावत परम्परागत कृषि खेतीपातीबाट दिक्क छन् । परिश्रम धेरै, उत्पादन कम, अनि बजारीकरणको कुनै मेसो थाहा नपाउँदा पुरानै शैलीको कृषि खेतीपातीले उनी हैरानीमा परेकी हुन् । उनि पहिलेदेखि कृषिमा केहि नयाँपनको आशा राख्ने एक सफल कृषक पनि हुन् । पुरानै तरिकाको कृषि खेति प्रणालीले लक्ष्मी रावत जस्तै जुम्लाका हजारौ किसान कृषि खेति प्रणालीमा नयाँ प्रविधिको खोजीमा छन् । यँहा परम्परागत शैलीमा भईरहेको कृषि उत्पादनले बजारीकरण त परै जावस खान पनि राम्रो संग पुग्दै, भने, उत्पादन बृद्धि, बजारीकरण तथा जीवन स्तर सुधारका कुरा यहाँका किसानले सोच्न समेत सकेका थिएनन् ।
तर जुम्लामा विगतका वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको कर्णाली दिगोविकास प्रतिष्ठान काष्डाले तिला गाउँपालिका, ६, ७, ८ र ९ नम्बर वडाका झण्डै ३ सय १४ जना किसानलाई अनुदान स्वरुप लाखौको स्मार्ट कृषि सामाग्री वितरण गर्दा किसान दंग छन् । ३० वटा समुह भित्रका ३ सय बढि किसानलाई मंगलबार एक कार्यक्रमका बीच ३० लाख बराबरको स्मार्ट कृषि सामाग्री वितरण गरीएको हो । औजार पाएपछि तिला गाउँपालिका सयौ किसानले खुसी समेत ब्यक्त गरे । कर्णालीमै पहिलो पटक स्याउ, सिमि र आलु उत्पादनमा बृद्धि गर्न कृषकलाई स्मार्ट कृषि औजार दिइएको हो । यसले बजारीकरणमा सहजता ल्याई जीवनस्तर माथि उकास्ने विश्वास छ ।
विशेष गरी स्याउ, सिमि तथा आलु उत्पादनमा सक्रिय किसानहरुको जीवनस्तर सुधार तथा उत्पादनमा बृद्धिका साथै बजारीकरणमा सहजता ल्याउने सोचले स्मार्ट कृषि सामाग्री वितरण गरिएको अभियान्ता भेष बहादुर रावलले बताए । उनका अनुसार किसानकै आबश्यकतामा आधारित स्मार्ट कृषि सामान वितरण गरीएको छ । यसले उत्पादन बृद्धि तथा बजारीकरणमा सहजता ल्याउने उनको विश्वास छ । ३० लाख बराबरको विभिन्न खाले सामान वितरण गरिएको छ । कृषि स्मार्ट सामानले उत्पादन बृद्धि, बजारीकरण र जीवनस्तर सुधार गरी सो क्षेत्रमा किसानको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार आबश्यकता पहिचान गरि सामाग्रि प्रदान गरिएको उनले बताए ।
‘स्याउ, सिमि र आलु उत्पादन बृद्धिका लागि, आरी, पानी जम्मा गर्न तथा जैविक विषाधि बनाउने ड्म, स्प्रे, चाना काट्ने मेसिन, डिजिटल तराजु, पाईप, सिग्नेचर, पाल, आरा, लगायत विभिन्न १० देखि १५ प्रकारका स्मार्ट कृषि सामाग्री अनुदानमा दिइएको हो, ३० समुहका ३ सय १४ किसानलाई सहज हुने गरी स्मार्ट कृषि सामाग्री प्रदान गरिएको छ ।’ तिला गाउँपालिका ३ कि जसी रावतले स्मार्ट कृषि सामाग्री बुझ्दा भनिन्, ‘अब निर्यात बढाउन्छौ, आयात घटाउने छौ, तिला गाउँपालिका क्षेत्र अहिले स्याउ, सिमि र आलुको पकेट क्षेत्र हो, कृषि क्षेत्रमा नयाँ प्रविधि नहुँदा पुरानै शैली अपनाउन बाध्य थियौ ।’ अब स्मार्ट कृषिक्षेत्र मात्र होईन स्मार्ट किसान बनेर पनि देखाउने उनको भनाई छ । लाखौको मुल्यको अनुदान सामानको प्रयोगले कृषि उत्पादन बृद्धि हुने कृषकहरुको अपेक्षा छ ।
‘तिला गाउँपालिकाले अब आउने दिनमा निर्यात दर बढाउने छ, स्याउ, सिमी र आलु मात्रै निर्यात गरे, लाखौ आम्दानी भित्राउन सकिने र त्यसको शुरुवात म आफैले गर्नेछु अर्कि कृषक माया रावतले भनिन् ।’ तिला गाउँपालिकाका ६ देखि ९ वडामा स्याउ, सिमि र आलु जुम्लाकै सबै भन्दा बढि तथा गुणस्तरीय पाईन्छ । तर, बजारीकरणको मेसो नपाउँदा लाखौको उत्पादन गाउँमै कुहिन्थ्यो, तर अब गाँउपालिकाले बजारीकरणमा भुमिका खेल्ने भएको छ ।
तिला गाउँपालिकाको कृषि सम्भवनालाई अबसरमा बदल्नका लागि यहाँको स्थानीय सरकारले विशेष योजना अघि सारेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए । किसानलाई स्मार्ट कृषि सामान वितरण गर्दै उनले भने, ‘अब स्मार्ट किसान अभियानको थालनी हुन्छ, काष्डाले पुलको भुमिका खेलेको छ ।’ कृषि उत्पादन बृद्धि देखि बजारीरकणसम्म स्थानीय सरकारको सहयोग तथा भुमिका रहने उनको भनाई छ । ‘तिला गाउँपालिका घोडेमहादेव तथा मालिकाकाठाँटा कृषिमा आत्मनिर्भर समाज हुन्, कृषिका नयाँपन ल्याउनु आजको आबश्यकता हो’ उनले भने, ‘संस्थाले यो कामको शुरुवात गरेपनि यसको कार्यान्वयन प्रक्रियामा गाउँपालिकाले साथ दिने छ, कृषि क्षेत्रमा छुटाएको लाखौ बजेटको सहि कार्यान्वयन पनि हुनेछ ।’ कृषि कर्मले बाचेको समुदायलाई आत्मनिर्भर बनाउन स्मार्ट कृषि सामानले ईटाको काम गर्ने उनले विश्वास व्यक्त गरे । तिला गाउँपालिकाबाट निर्यात बढाउने किसानको संकल्पलाई देखेर कृषिमा लगानी बढाउनुको विकल्प नरहेको उनको भनाई छ ।