संघीय कानुन नबन्दा प्रदेश सरकार अन्यौल ः मन्त्री भण्डारी

जुम्ला ः संघीय सरकारले आवश्यक ऐन कानुन नबनाउदा प्रदेश सरकार अन्यौलमा रहेको कर्णाली प्रदेश प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । उनले भने संघीय सरकारले कानुनीबाटो नदिदा प्रदेश सरकार अन्यौलमा रहेको हो । उनले संघीय सरकारले संघीय प्रहरी र लोकसेवा ऐन ल्याउनु पर्नेमा जोड दिए ।
दसै मान्न जुम्लाका पुगेका कानुनमन्त्री भण्डारीले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघीय सरकारले काम गर्न नसक्दा प्रदेश सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भने,“संघीय सरकारले आफ्नो ऐन, नियम, कार्यविधि जारी गरेमा प्रदेश सरकारले आफ्नो कानुन बनाएर कार्य सञ्चालन गर्न सहज हुन्थ्यो तर त्यसो हुन सकेको छैन संघीय सरकारले विलम्ब गरेको छ । प्रदेश सरकार सघीयता सफल बनाउनको लागि अघि बढ्ने प्रयत्न गरेको छ तर संघीय सरकारले ढिलाई गरिरहेको छ ।
संविधान र संघीयता हरेक नेपालीको आशु, पसिना र रगतले आर्जेको हो, कार्यन्वयनमा पनि जनताको साथ चाहिन्छ, मन्त्री भण्डारीले भने जनता उदासिन बन्नु हुदैन, खवरदारी गर्ने बलियोे आधार बन्न जरुरी छ । संघीय सरकारले कानुन निर्माणको काममा ढिलो गर्दा संघीयता विरोधी शक्ति सलबलाई रहेका छन् । दसैँमा पनि कर्णाली प्रदेश सरकार आन्तरिक काममा व्यस्त रहेको बताउदै मन्त्री भण्डारीले बजेट कार्यन्वयनका लागि ऐन, कानुन र कार्यविधि बनाउदै गरेको बताए ।
जुम्ला सदरमुकाम खलंगामा उर्जा संकट भईरहेको स्मरण गर्दै मन्त्री भण्डारीले तातोपानीमा एक मेगावट वायु उर्जा र एक मेगावटको चुकेनी जलविद्युत आयोजनाको काम पुरा हुने वित्तिकै अन्धकारमुक्त खलंगा हुने बताए । कर्णाली प्रदेशमा आवश्यक कर्मचारी २ हजार ३ सय भएकोमा ९ सय कर्मचारीले मात्रै छन् ,उनले भने कर्मचारी राख्न पाउने र पदोन्नती र कार्वाही दुवै गर्न पाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षलाई आधार वर्षको रुपमा मनाउदै आएको उनको भनाई छ । प्रदेश सरकारले जुम्लाका ६० बटा आयोजनामा काम गर्ने गरी .बजेट व्यवस्था गरेको बताए ।
जुम्ला क्षेत्र नम्बर (ख)का सांसद पदमवहादुर रोकायाले कर्णाली प्रदेश सरकार पर्यटनको प्रवद्र्धन गर्न सके मात्रै बलियो हुन सक्ने बताए । यहाँ ऐतिहासिक तथा सास्कृतिक पर्यटन गन्तव्य छन्, जडिवुटीको धनि छ । ठुलो राराताल, लामो कर्णाली नदि छ । जसवाट हजारौँ मेगावट विद्युत निकाल्न सकिने संभावना रहन्छ, सांसद रोकायाले भने, कर्णालीवासी धनि छौँ, तर यहाँको संभावनाको प्रयोग गर्न सकेका छैनौ । संभावनाको खोजी गर्दै व्यवहारमा कार्यन्वयन गर्न सके कर्णाली प्रदेश हरेक हिसावमा आत्मनिर्भर हुन सक्ने सम्भावना धेरै छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस