जुम्ला ः दसैँको अवधिभर जुम्लामा २२ जुवाडे पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको बसपार्कबाट चार जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सिताराम रिजालले बताए । उनका अनुसार ठुलो धनरासीमा जुवा खेल्दै गरेको अवस्थाबाट पक्राउ परेका जुवाडे प्रहरी हिरासतमा छन् । यसअधि जुम्लाको बसपार्कबाट १४ जना जुवाडे पक्राउ परेका थिए भने २ लाख ५१ हजार रुपैया प्रहरी जफत गरेको थियो ।
पछिल्लो समयमा जुवा र मदिरा सेवन कार्य निरुत्साहित गर्न प्रहरीले कडा निगरानी थालेको छ । चाडवाडको नाममा बढ्ने गरेको जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान सुरु गरेको हो । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् ।
प्रकाशित मिति : २०७५ कार्तिक ३ गते शनिवार