काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला । अदानचुली गाउँपालिका (४ बिगुठी हुम्लाकी, १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी छिनभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ हुन्छ भनेर । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परिन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तीघ्रामा लागेर हड्डी र नसा छिनालिदियो । ’ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु’, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, ’उठ्न खोज्दा खुट्टा टेक्न सकिएन ।’ छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन ।

तत्काल तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत र्पुयाइएको रमिलाका मामा ज्योति गिरीले दुखेको सुनाए । ’सुर्खेतमा समेत उपचार हुन नसकेपछि जीप बुक गरेर भारतको लखनउ लग्यौँ, गिरीले भने, ’गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ । पछि शल्यक्रिया गरेर खुट्टा काट्नुको विकल्प रहेन् ।’ बुमीको उपचार गर्न हालसम्म सात लाख खर्च भइसकेको उनले बताए । लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने ड्रेसिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे (सपाङ्ग) रमिला बुमीलाई छिमेकीको लापरवाहीका कारण अपाङ्ग भएर अब सधैंका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेका छन् । अञ्जानवश ः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानुनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने कुरा भएको उनका आमाबुबाले बताए । हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरेकी छन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ । रासस

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस