यस्तो छ, कहिल्यै सिनेमा नहेरेकी जाजरकोटकि कमलाको सिने यात्रा

काठमाडौं । कात्तिक १६ देखि रेखा थापा निर्दे्शित फिल्म ‘मालिका’ विभिन्न हलमा प्रदर्शन भइरहेको छ । फिल्मकी नायिका हुन्, जाजरकोटकी कमला । जाजरकोटको दुर्गम क्षेत्र कालेगाँउमा हुर्किएकी कमला वली अहिले चर्चामा छिन् ।

फिल्ममा अभिनय गर्नु त परै जाओस् फिल्म नै के हो भन्ने कुरामा समेत अनभिज्ञ थिइन्, कमला । दुःख कष्टका कथाहरू मात्र बोकेको कर्णाली प्रदेशको जाजरकोटका युवतीका लागि कुनै फिल्ममा अभिनय गर्नु अकल्पनीय कुरा जस्तै मानिन्छ । त्यसो त पश्चिमी समाजको ग्रामीण परिवेश, जहाँ छोरी मान्छेले फिल्म खेल्नु मर्यादा नाघ्नु हो ।

कमला पनि यो कुराको अपवाद थिइनन् । उनका लागि आफ्नो भाग्यमा फिल्म खेल्ने जोग परेको छ भन्ने देख्नु कल्पनाबाहिरको कुरा थियो । तर, जीवनमा नसोचेको हुन्छ । नसोचेको पल र घडी आउँछ । फिल्मसमेत कहिल्यै नहेरेकी कमला आफैँ नायिकाका रूपमा फिल्म खेल्न पुगिन् ।

कमला फिल्मसँग जोडिन पुगेको संयोग अनौठो र अकल्पनीय छ । रियल जीवनमा जाजरकोटको उकाली–ओराली गरिरहेकी कमलाको भेट गएको वैशाख १३ गते रिल जीवनमा विभिन्न भूमिकाबाट दर्शकको मन जितेकी अभिनेत्री रेखा थापासँग भयो । रेखा थापासँग भेट हुनुअघि उनको भेट नरबहादुर कार्कीसँग भएको थियो । जो मालिका फिल्मका कार्यकारी निर्माता हुन् । उनी फिल्मको लागि क्यारेक्टर खोज्दै जाजरकोट पुगेका थिए ।

ननएक्टरमा एक्टर खोजिरहेका नरबहादुरले उनलाई गाँउमा साथीहरूसँग बसिरहेका वेला त्यहाँको प्रहरी चौकीमा भेटेका थिए । कमला गाँउकै झै–झगडा मामलामा प्रहरी चौकी गएकी थिइन् । बाटोमा भिडभाड देखेपछि नरबहादुर ‘के भएछ’ भनेर बुझ्नका लागि त्यहाँ गएका थिए । भिडमा नबोली शान्त भएर बसिरहेकी कमलाको अनुहारमा भने आक्रोश स्पष्ट देखिन्थ्यो ।

नरबहादुरले झगडा शान्त भइसकेपछि कमलालाई सीधै ‘फिल्म खेल्छौ ?’ भनेर सोधे । फिल्म भनेको के हो भन्ने थाहा नपाएकी कमलाले नरबहादुरको प्रश्न नै राम्ररी बुझिनन् । बरु नचिनेको मान्छेसँग बोल्नुहुँदैन भन्ने कुरा मनमा आयो ।

कमलाका लागि आफ्नो भाग्यमा फिल्म खेल्ने जोग परेको छ भन्ने देख्नु कल्पनाबाहिरको कुरा थियो । तर, जीवनमा नसोचेको हुन्छ । फिल्मसमेत कहिल्यै नहेरेकी कमला आफैँ नायिकाका रूपमा फिल्म खेल्न पुगिन् ।

नरबहादुरले जसरी कमलालाई फिल्म खेल्छौ भनेर सीधै सोधे, उसैगरी कमलाले पनि सीधै खेल्दिन भनेर अस्वीकार गरिदिइन् । तर, नरबहादुर मालिकाको क्यारेक्टरमा कमला ‘फिट’ हुने निचोडमा पुगिसकेका थिए । त्यही भएर त उनले कमलालाई चलचित्रमा खेलाउन, उनका बुबा–आमा मात्र होइन, हजुरबुबालाई समेत सम्झाई–बुझाई गर्नुपर्‍यो ।

कमला सानै हुँदा उनका बुबाले आमालाई छाडेर अर्को विवाह गरेका थिए । पछि, आमाले पनि अर्को विवाह गरिन् । कमला अहिले मामाघरमा आमा र सानोबुबासँग बस्छिन् । कमलालाई फिल्ममा खेलाउन नरबहादुरले निकै प्रयास गर्नुपरेको थियो । उनकी आमाले त पटक्कै मानेकी थिइनन् ।

ग्रामीण परिवेशमा विशेषगरी छोरीचेलीलाई एक्लै बाहिर पठाउनु ग्राहो मानिन्छ । त्यो पनि फिल्ममा खेल्न त अनुमति नै हुँदैन । मावली हजुरबुबालाई नरबहादुरले सम्झाएपछि मात्र आफूसँगै काठमाडौं ल्याउने र राम्रो भए मात्र खेल्न दिने सर्तमा कमलालाई काठमाडौं ल्याए ।

त्यसै पनि कमलाको एकदम कम बोल्ने स्वभाव थियो । धेरै कुरा थाहा नै थिएन । कम बोल्ने कमलाको विश्वास जित्न निकै कसरत गर्नुपरेको निर्मातारअभिनेत्री रेखा थापा बताउँछिन् । फिल्म सुटिङको पहिलो दिन नयाँ बसपार्कमा बेहुलीको भेषमा क्यामेरा तेस्र्याउँदा डर, अचम्म लागेको सुनाउँदै कमला भन्छिन्, ‘दुई–चार दिन काम गरेपछि मात्र सहज महसुस गर्न थालेँ ।’

पहिलो सुट उनको नयाँ बसपार्कमा भएको थियो । बेहुलीको भूमिका गर्नुपर्दा अनुहार रातो पिरो भएको र लाजसमेत लागेको उनी सुनाउँछिन् । काठमाडौं देखि जाजरकोटसम्मै सुट भएको मालिकामा कमलाले करिब एक महिना काम गरिन् । काठमाडौं आएर फिल्मको विषयवस्तुबारे थाहा पाउँदा उनले बल्ल धेरै कुरा थाहा पाइन् ।

उनी भन्छिन्, ‘सुटिङ सकेपछि केही कुराको बारेमा थाहा पाएँ । कर्णाली प्रदेश विकट छ, यहाँ चेतना र शिक्षाको कमी छ । यही कारण यहाँ बालविवाह हुन्छ । महिलाको अवस्था सबैभन्दा नाजुक छ, आदि–इत्यादि ।’ आफूले यतिका दिन अभिनय गरेको आफ्नै गाउँघरका साथीभाइले भोगेको कथा पो रहेछ, आफूले उनीहरूकै चरित्र निर्वाह गरेको रहेछु भन्ने कुरा सुटिङ सकिँदा मात्रै थाहा पाएको पनि उनले सुनाइन् । फिल्ममा महिला चरित्रलाई माथि उठाएर केही नयाँ गर्ने खोजमा लागेकी अभिनेत्री रेखा थापाकी उपज हुन्, कमला । पछिल्लो समय महिलालाई फिल्ममार्फत ‘हिरो’को रूपमा स्थापित गर्न लागिपरेकी छिन्, रेखा । मालिकामा पनि उनले कमलालाई जयाको चरित्रमा उतारेकी छिन् ।

कमला भन्छिन्– फिल्म के हो थाहा थिएन । फिल्म खेलिसकेपछि बालविवाह र यसले पार्ने नकारात्मक असरबारे धेरै जानकारी पाएकी छु । अभिनयमा मात्र नभएर अब गाउँघरमै गएर बालविवाहविरुद्ध लाग्नेछु ।

यो फिल्मका पात्रदेखि कथावस्तुसमेत आमफिल्मभन्दा फरक छ । अन्य निर्देशक अभिनय गर्न जान्ने र नाच्न जान्ने कलाकार खोज्दै काठमाडौंलगायत देशका सुगम क्षेत्रमा पुग्ने यथार्थभन्दा बाहिर रहेर अभिनेत्री रेखा थापाले मालिका फिल्ममा अभिनयको संसार मात्र होइन, फिल्म भनेकै के हो भन्ने जानकारी नभएकी कर्णालीकी छोरीलाई ‘हिरो’ बनाउने जोखिम उठाइन् ।

रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘मालिका’की मुख्य पात्र कमला वली मालिकामार्फत रिलको संसारमा मात्र छिरेकी छैनन्, दर्शकको मन जित्ने दाउमा समेत छिन् । फिल्ममा कमला मात्र होइन, कमलाजस्तै अन्य पात्रलाई समेत सहभागी गराइएको छ । फिल्ममा बालवधुको रूपमा देखिने शर्मिला रावल पनि जाजरकोटकै हुन् । उनी पनि कमलाजस्तै अभिनय र फिल्मबारे अनभिज्ञ थिइन् ।

भन्छिन्, ‘मालिकामा काम गर्ने अवसरले धेरै कुरा सिक्ने मौका मिल्यो ।’ कमलालाई फिल्ममा खेल्नुभन्दा पनि आफूलाई केही कुरा सिक्न पाएकोमा बढी खुसी लागेको छ । भन्छिन्, ‘फिल्म खेलिसकेपछि बालविवाह र यसले पार्ने नकारात्मक असरका बारेमा धेरै जानकारी पाएको छु । अभिनयमा मात्र नभएर अब गाँउघरमै गएर बालविवाहविरुद्ध लाग्नेछु ।’

चलचत्रि के हो भन्नेसम्म थाहा नभएकी आफूले गरेको अभिनयले सबैको मन छुनेमा आफू आशावादी भएको कमला बताउँछिन् । कर्णालीको रियल पात्र कमला र कमलाजस्ता रियल पात्रलाई फिल्मको माध्यमबाट ‘हिरो’ बनाउँदै अन्य धेरै किशोरीमा हिरो बन्ने साहस जुटाउने अभियानमा जुटेकी अभिनेत्री रेखा थापा चुनौतीमा अवसर खोजिरहेको बताउँछिन् । नँया पत्रिकाबाट

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस