बन्द जुम्ला विमानस्थल थप एक हप्ता खुला

जुम्ला : जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ । विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गर्ने सूचना सार्वजनिक गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जूम्ला स्थित डुंडुल चैत्यको उद्घाटन गर्न निजी जहाज ल्याएर विमानस्थलमा अवतरण गराएपछि स्थानीयले चर्को विरोध गरेका थिए । स्थानीयले चर्को विरोध गरेपछि एक साताका लागि खुला गरिएको जुम्ला विमानस्थल फेरी एक साता थप्ने गरी खुला गरिएको हो ।
नागरिक उड्ययन प्राधिकरणले दुर्घटनाग्रस्त जहाज उडाउन्जेलसम्मको लागि विमानस्थल खुल्ला गर्न निर्देशन गरेपछि कार्तिक २४ गते सम्मका लागि जुम्ला विमानस्थल खुला गरिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बतए । झण्डै एक महिनादेखि जुम्लामा दुर्घटनाग्रस्त तारा एयरको जहाजको मर्मत गर्ने कार्य भईरहेको छ, अब दुई चार दिनमै मर्मतको काम सकेर उडान गर्ने भएकोले जुम्ला विमानस्थल खुला गरिएको हो उनले भने । तारा एयरको आग्रहमा प्राधिकरण केन्द्रिय कार्यालयले एक साताका लागि विमानस्थल खुला गर्न निर्देशन गरेको हो ।
तर विमानस्थल पटक पटक खुलाउने र बन्द गर्ने निर्णयले सवैलाई अन्यौल बनाएको छ । यहाँ नियमित रुपमा चल्ने हवाई जहाजका कम्पनीदेखि सर्वसाधारणलाई अन्यौल बनाएको स्थानीय बताए । चिसो समयमा सिमेन्टको काम नहुने भएकोले छिटो भन्दा छिटो विमानस्थलको स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ । तारा एयरको जहाज झण्डै ६ महिना अघि अवतरण गर्दा सन्तुलन गुमाएपछि दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस