
नन्दराम जैसी,
जुम्ला । जुम्लामा यस बर्ष स्याउबाट १७ करोड रकम भित्रिएको छ । आर्थिक बर्ष ०७५÷०७६ को भदौदेखि कार्तिकसम्म ब्यापारीहरुले जिल्लाबाट १७ करोड बढिको स्याउ निर्यात गरेका हुन् । यस बर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउकृषकले पाँच हजारदेखि १० लाखसम्म कमाई गरेका छन् । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै ३४ सय टन बढि स्याउ उत्पादन भएकोमा २३ सय टन बढि स्याउ निर्यात भैसकेको छ । जसमध्य पहिलो पटक ठुलो परिणाममा दुई टन फुजि स्याउ निर्यात भएको हो ।
जिल्लाका आठ वटा स्थानिय तहबाट स्याउ निर्यातका लागि करीब तिन सय जना ब्यापारीहरुले अनुमति लिएका थिए । स्थानिय तहले प्रति केजि स्याउ निर्यातको ५० पैसाका दरले अनुमति दिँदा लाखौ कर संकलन गरेका छन् । भने स्याउ ब्यापारीहरुले सरदरमा प्रतिकेजि ५० रुपैयाका दरले कृषकबाट स्याउ खरीद गरेका थिए । जिल्लाबाहिर काठ्माडौ, नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगर लगाएत देशका प्रमुख ब्यापारीक शहरहरुमा जुम्ली स्याउ निर्यात भएको छ । काठ्माडौ भाटभटेनि सुपरमार्केटमा जुम्लामा प्रतिकेजि ५० रुपैयाले खरीद भएको स्याउ एक सय ५० रुपैया र प्रतिकेजि दुई सयसम्मले खरीद भएको फुजि स्याउ तिन सय रुपैयामा बिक्रि भैरहेको छ । जिल्लामा उत्पादन हुने ठुलो दाना स्याउ विक्रि गरीन्छ, भने साना दानावाला स्याउको जाम, जेली, जुस, साईटर स्याउ चाना र स्याउको मदिरा समेत वनाएर बिक्रि गर्ने गरीएको छ ।