कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा खोज्दै कञ्चनपुरमा दिउँसै टर्च बालेर आन्दोलन गरिएको छ । नागरिक संघर्ष समिति कञ्चनपुरको अगुवाईमा अधिकारकर्मीले बुधबार दिउँसै टर्च बालेर हत्यारा खोजेका हुन् ।
चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसेको भन्दै अधिकारकर्मीले आफैले हत्यारा खोज्न टर्च बालेर खोजेको बताए । कञ्चनपुरकी अधिकारकर्मी एवम् समितिका सदस्य निर्मला जोशी(भट्ट)ले न्याय नपाएपछि बाध्य भएर टर्च बालेर सरकार र हत्याराको खोजी गरेको बताए ।
‘सरकारले हत्यारा खोजेन, ‘उनले भनिन, ‘हामी आफैले हत्यारा खोज्नुपर्ने बाध्यता आयो ।’ अधिकारकर्मी निर्मलाका अनुसार प्रशासन, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयको गेटमा टर्च बालेर सरकार र हत्यारा खोजी गरिएको छ । न्याय, हत्यारा र सरकार हराएको भन्दै खोज्नका लागि विरोध स्वरुप आन्दोलन गरेको अधिकारकर्मीले बताए ।
समितिको पूर्व–घोषित कार्यक्रम अनुसार बुधबार पनि आन्दोलन भएको हो । गत २५ कार्तिकदेखि निर्मलाका बाबु यज्ञराज पन्तले प्रशासनको मुल गेट अगाडी टेण्ट लगाएर धर्ना बसेका थिए । उनी बिरामी परेपछि उनको काठमाण्डौँ त्रिवि शिक्षण अस्पतालका उपचार भईरहेको छ । उपचारमा जेठी श्रीमती गएकी थिईन् । यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीदेवी पन्तले धर्ना सम्हालेकीछिन् ।