जुम्लाका दृष्टिविहिन विद्यार्थीका लागि आवासीय नमुना भवन

नन्दराम जैसी,

जुम्ला । सिंजा गाँउपालिका ३ स्थीत भैरब मा.वि नराकोटमा निर्माणधिन अपांगमैत्री भवन निर्माणपछि दृष्टिविहिन विद्यार्थीलाई सहज हुनेभएको छ । दृष्टिविहिन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकौ नमुना अपांगमैत्री र भुकम्प प्रतिरोधि भवन नराकोटमा निर्माण भैरहेको हो । प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । मंगलबार सरोकारवाला निकायले भवनको संयुक्त अनुगमन समेत गरेका छन् । अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै प्रतिरोधि र अपांगमैत्री भएकोले दृष्टिविहिन विद्यार्थीलाई बहुउपयोगि हुने बताए । भवनको निर्माण कार्य चाँडै सक्नुका साथै स्टमेट अनुसार कुनै तलमाथी नगर्न उनले सुझाब दिए ।

यसअघि भैरब मा.वि मा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई विद्यालयमै अपांगमैत्री भवन नहुँदा सकस भएको थियो । उनिहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको ब्यवस्था गरीएको थियो । बर्षाको खोला तथा दैनिक भिरपाखामै हिडेर दृष्टिविहिन विद्यार्थी विद्यालय आउजाउ गथ्र्ये । सँधै टाढा बाट सहयोगिको माध्ययमबाट विद्यालय पुग्नु पर्ने र विद्यालयमा अपांगमैत्री सौचालय तथा बातावरण नहुँदाको निकै सकस उनिहरुले भोग्दै आएका थिए । यसरी विद्यालयमा पढ्दै आएका दृष्टिविहिन विद्यार्थीलाई कुनैपनि बेला आउजाउ गर्दा चोटपटक लाग्ने वा बाटोमा कसैले हिंसात्मक गतिविधि गर्न सक्ने चिन्ता थियो । भने अर्को तर्फ मनोबल घटेर पढाईमा समेत असर परिरहेको थियो । यहि समस्यालाई मध्यनगर गर्दै नमुना अपांगमैत्री भवन निर्माण भएपछि विद्यार्थीहरु निकै खुसि एका छन् ।

भवन निर्माणमा खटिएका सिभिल ईन्जिनियर शेरबहादुर शाहिले दृष्टिविहिन विद्यार्थीले भोग्नु परेका यसअघिका दुःख अन्त्य हुने बताए । उनले भने ‘भवनभित्र विद्यार्थीका लागि प्रयाप्त कोठा तथा सहज एटेज बाथरुको ब्यवस्था छ, यसले गर्दा उनिहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्ने छ ।’ उनका अनुसार छात्रावासका लागि ११ कोठा, सौचालयहरु बनाईएका छन्, भने तातोका लागि जिप्सन बोर्ड राख्ने तयारी भैरहेको छ । भुकम्प प्रतिरोधि उक्त भवनका पिलर जमिनमुनि ६ फिट गाडीएका छन् । भने जमिन माथी १० फिट उचाईमा छ । भवन एक करोड बढिको लागतमा निर्माण हुन लागेको हो । किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहिले भवन निर्माणका क्रममा प्राविधिकहरुलाई प्रत्यक्ष फिल्डमै बसालेर कुनैपनि कमजोरी रहन नदिएको बताए । विद्यार्थीलाई पढाएर मात्रै नहुने भन्दै खान, बस्नको उचित ब्यवस्था सहित उनिहरुको मनोबल पनि बढाउनुपर्ने उनको भनाई छ । आगामि शैक्षिक शत्रदेखि दृष्टिविहिन विद्यार्थीको पढाई गुणस्तर पनि सुध्रिने उनले विश्वास गरेका छन् । विद्यालयको रेखदेख तथा समस्या समाधानमा लागि वडा पालिका तयार रहेको ३ नंम्बर वडा अध्यक्ष तिलाचन्द्र चौलागाइले बताए ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस