सामाजिक विभेद विरुद्ध घरदैलो गर्दै किशोर

घरपरिवार काममा ब्यस्त भएको समयमा कर्णालीका अधिकांश बालिकाहरु यसरी नै आफुभन्दा साना आफ्ना भाईबहिनिलाई दिनभर बोकेर वा समातेर खेलाउने गर्दछ्न । तस्विर ः नन्द्यराम जैसी, जुम्ला ।

नन्दराम जैसी,
जुम्ला । जिल्लामा विद्यमान लैंगिक हिंसा तथा लिंगका आधारमा गरीने विभेदको प्रमुख चपेटामा महिला र बालबालिकाहरु परेका छन् । देशमा साशन ब्यवस्था र समय फेरीएपनि जुम्लामा अँझैसम्म लिंगका आधारमा छोराछोरीबिच गरीने विभेदका कारण किशोरीहरु समस्याबाट मुक्त हुनसकेका छैनन् । पठनपाठन, खानपान, लुवाईखुवाई र बोलीचालीको संस्कारका नाममा सानै उमेरदेखि जानीनजानी घरदेखिनै छोरीको आत्मबल घटाउने काम गरीन्छ । छोरीलाई संस्कारी नारी तथा छोरालाई असल नागरीक बनाउने भन्दै घरदेखिनै बालिकाहरुले विभेदकारी शिक्षा पाईरहेका छन् । घरबाटनै शुरु हुने विभेदकारी संस्कारका कारण पछि गएर किशोर भन्दा किशोरीहरु बढि कमजोर मनोस्थीतीका हुने गरेका छन् । जसले गर्दा विद्यालय वा समाजमा ठुला मान्छेका अगाडी बोल्न वा सहजै मनको धारणा ब्यक्त गर्नपनि उनिहरु सकिरहेका छ्रनन् । समाजको लहलहै तथा पारीवारीक दबाबका कारण जुम्लामा कतिपयले त, किशोरी अवस्थामै आमा बनेर आफ्नो भविष्य नै अन्धकारमा पुर्याएका छन् । यस्तो अवस्थामा सबैभन्दा पहिले किशोरीहरुलाई उचित शिक्षा दिन आवाश्यक छ ।

पछिल्लो समय जिल्लाका गाँउदेखि शहरसम्म लैंगिक हिंसा तथा छोराछोरीबिच हुने विभेद विरुद्ध महिला वा किशोरीहरुले खुलेरै बहस गरीरहेको धेरै उदाहरण देख्नसकिन्छ । भने सामुहिक अभियान समेत संचालन भैरहेका छन् । तर लैंगिक हिंसा तथा विभेद विरुद्ध किशोरहरुले नै घरदैलो अभियान गरेको भने देखिँदैन । आफ्नो गाँउका किशोरी दिदि बहिनिले कालान्तारमा समाजले बनाएका विभेदकारी संस्कारका कारण कुनैपनि दुःख भोग्न नपरोस् भन्दै सिंजा गाँउपालिका जोडुका विद्यार्थीले घरदैलो अभियान गरीरहेका छन् । श्रि मा.वि जोडुमा अध्ययनरत गाँउका २५ जना किशोर यस्तो अभियानमा लागेको संभवत यो जिल्लाकै किशोरहरुले थालेको पहिलो नमुना काम हो । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले गाँउमा संचालन गरेको तीन महिने परिवर्तनका संवाहक, सिओसी कक्षापछि किशोरहरु यस्तो अभियानमा लागेका हुन् ।

किशोरहरु हिजोआज समुहमा मिलेर गाँउमा हिंसा तथा विभेद विरुद्ध घरदैलो कार्यक्रम गरीरहेको सिओसी कक्षा सहजकर्ता दलबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सिओसी कक्षा लिईसकेपछि किशोरहरुमा आएको आँट र जाँगरका कारण उनिहरु आफै समाज परिवर्तनका लागि अग्रसर भएका हुन् । किशोर बमबहादुर बुढाले घरदैलोमै गएर स्थानियलाई लैंगिक तथा घरेलु हिंसाका बिषयमा जानकारी दिन निकै गाह्रो हुने बताए । ‘हाम्रो समाजमा छोरीमाथी निकै विभेद हुन्छ, छोरीलाई सकेसम्म अभिभावकले विद्यालयनै पठाउँदैनन्’ उनले भने, ‘हामि छोराछोरी एउटै हुँ, यहि विभेद अन्त्यका लागि घरदैलो अभियान जारी राख्नेछौ ।’ घरदैलोपछि गाँउमा लैंगिक हिंसा तथा छोराछोरीबिचको विभेद न्युनिकरण हुँदै गएको किशोर राजेन्द्र बुढाले बताए । ‘सिओसी कक्षाले हाम्रो बानि मात्र परिवर्तन भएको छैन, गाँउ समाजमा लैंगिक हिंसा गर्नेको बानी समेत हामि परिवर्तन गर्ने कोसिशमा छौ’ उनले भने, ‘कक्षाकै कारण हामिमा बोल्न सक्ने र निर्णय गर्ने क्षमता बृद्धि भएको हो ।’

किशोर दाबहादुर रावतले गाँउमा छोरीलाई धेरै नपढाउने वा सानैमा बिहे गरी दिने परम्परा रोकिने बताए । उनले भने, ‘सिओसी कक्षाले हामिलाई समुहमा मिलेर बस्न वा निणर्य गर्न सिकाएको छ, सोहि आधारमा पछि पर्ने समस्या समाधानका लागि हामि एकजुट भएर अघि बढ्ने छौ ।’ उनिहरु जस्तै गाँउका सबै किशोरहरुको गाँउ समाजदेखि विद्यालयसम्म बोल्ने बानिको विकास भएको छ, भने शिक्षाका कुरामा पनि रुचि राख्न थालेका छन् । सिओसी कक्षा तथा कार्यक्रम सुपरभाईजर सेरबहादुर रोकायाले किशोर तथा किशोरीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै बोल्ने, पढ्ने वा आत्म निर्णय गर्ने क्षमता विकासका लागि जिल्लाका हिमा, सिंजा र कनकासुनदरी गाँउपालिकामा कक्षा संचालन भैरहेको जानकारी दिए । उनका अनुसार तिन गाँउपालिकामा आठ वटा किशोरी र आठ वटा किशोर समुह गरी १६ वठा समुहमा आठ सय विद्यार्थीले अध्ययन गरीरहेका छन् ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस