नन्दराम जैसी
जुम्ला । आउँदो माग २० गतेदेखि जुम्लामा कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत कथानक चलचित्र ‘कचहरी’ को च्यारीटी सो शुरुहुने भएको छ । चलचित्रको छायांकनपछि निर्माण कार्य सम्पन्न भएकाले जुम्लामा करीब एक हप्तासम्म च्यारीटी सो हुने पावर मुभिज प्रोडक्सन प्रा.लिले जनाएको छ । प्रा.लि द्धारा जिल्लामा शुक्रबार गरीएको पत्रकार सम्मेलन मार्फत एक हप्तासम्म प्रर्दशन हुने च्यारीटी सो का अवसरमा चलचित्र हेर्ने मौका नगुमाउन सबैलाई आग्रह गरीएको छ । चलचित्रको कथा, बिषयबस्तु र लोकेसनका आधारमा गतबर्ष पुस ५ गतेदेखि छाँयांकन शुरु भएको थियो । भने केहि दिन अघि मात्र निर्माण कार्य सकिएको छ ।
पावर मुभिज प्रोडक्सन प्रा.लि का अनुसार केहिदिनपछि चलचित्रको टेलर समेत सार्वजनिक हुने भएको छ । त्यस्तै जिल्लाका हरेक स्थानिय तहमा चलचित्र प्रर्दशन गर्ने तयारी भैरहेको छ । जिल्लाको ४० बर्ष पुरानो कला संस्कृतिको अवस्थालाई झल्काउनुका साथै पर्यटकिय संभावनाको प्रचार प्रसार हुने भएकाले जिल्लामा रहनुहुनेजति सबैलाई अनिवार्य चलचित्र हेर्न आयोजकले आग्रह गरेको छ । जिल्लामा हुने च्यारीटी प्रर्दशनपछि देश, विदेशसम्म चलचित्र रिलिज गर्ने तयारी भैरहेको छ । कर्णालीको खष भाषाशैलीमा छाँयाकन गरीएको चलचित्रले कर्णालीमा विद्यमान छाउपढिप्रथा, जारीप्रथा र हलिया प्रथालाई कथाको मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्रमा खष भाषा सम्पादन हरीबाबु चौलागाँइ सहित दुई जनाले गरेका छ ।
कथानक चलचित्रमा कर्णालीबासिले पुर्खोदेखि भोग्दै आएको बास्तविक जिबनशैली प्रस्तुत गरीएकाले चलचित्र हेरेपछि दर्शकहरुको निकै मन जित्न सफल हुने पावर मुभिज प्रोडक्सन प्रा.लिले विश्वास लिएको छ । कर्णालीका ऐतिहाँसिक, पर्यटकीय क्षेत्र तथा मनोरम दृष्यहरुमा छाँयांकन गरीएको चलचित्रले यँहाको निर्वाहमुखि परम्परागत अर्गानिक खेती प्रणालीमा कृषकहरुको जिबनचक्र, कालापहाडीनुको बाध्यता सहितको सन्दर्भपनि प्रस्तुत गरेको छ । चलचित्रको मुख्य भुमिकामा कलाकार गिता कटुवाल र नवदत्त न्यौपाने छन् । त्यस्तै निर्देशकमा शक्ति परियार, कथा लेखनमा मदन नेपालि र छाँयाकनमा सरोज शाहि रहेका छन् । करीब दुई घण्टाको चलचित्र ४० लाख बढि लागतमा निर्माण भएको निर्देशक शक्ति परियारले बताए । मुख्य भुमिकामा रहेका कलाकार ठेके र चैतुको बृतचित्रमा प्रस्तुत पारीवारीक जिबन शैलिले समग्र कर्णालीबासिकै बिजन शैलिलाई सम्बोधन गरेको उनको भनाइ छ ।
चलचित्रमा अभिनय गरेका ४० जना कलाकारहरु सबैजनाले हाल कर्णालीमा लोप भैसकेका बहुमुल्य परम्परागत पहिरनमा सजिएका छन्, भने कलाकारहरुले प्रयोग गर्ने अन्य सबै परम्परागत सामाग्रिहरु छन् । पुरुषको पहिरनमा दोचा, दोफर, (जुक्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका सामाग्रि प्रयोग गरीएका छन् । त्यस्तै महिलाको पहिरनमा, ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुरछाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो आदी परम्परागत लोप भैसकेका गहनाको प्रयोग गरीएको छ ।