जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको छ । चिकित्सकले प्रतिष्ठानमा विभिन्न माग राख्दै आन्दोलित भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । परीक्षा र अभ्यास शिक्षण भइरहेपनि एक सातादेखि अध्ययन—अध्यापन बन्द भएको छ । डिनको कार्यालयमा तालाबन्दी गरिएको छ । जसले गर्दा भारतदेखि देशभरका विभिन्न ठाउँबाट पठनपाठनका लागि प्रतिष्ठानमा पुगेका विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।
प्रतिष्ठानका एक विद्यार्थीले भने, ‘एक सातादेखि पठनपाठन भइरहेको छैन । दैनिक कलेज आउने र फर्किने काम भइरहेको छ ।’ ती विद्यार्थीले विवाद छिटो समाधान गरेर नियमित पठनपाठनको वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । प्रतिष्ठानका धेरैजसो पदाधिकारी काम विशेषले जिल्ला बाहिर अर्थात काठमाडौंमा छन् । यता चिकित्सकको आन्दोलन चलिरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको डिन कार्यालयमा ३० चैतमा तालाबन्दी गरिएको हो । प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकले माग सम्बोधन नभएपछि डिन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिएपनि व्यवस्थापन पक्षबाट बेवास्ता भइरहेको छ । उनले भने, ‘शान्तिपूर्ण ढंगले माग राखेका थियौं । तर, सुनुवाई नै नभएपछि तालाबन्दी गर्नु परेको हो ।’ फ्याकल्टीहरू अनावश्यक प्रशासनिक बोझ तथा असहज कार्य वातावरणका कारण प्रभावकारी रूपमा काम गर्न असमर्थ भइरहेको चिकित्सकको उनको भनाइ छ । ‘यस अवस्थालाई सम्बोधन गर्नु अस्पताल प्रशासनको तत्कालको दायित्व हो भन्ने हामी ठान्दछौं,’ उनले थपे ।
उपलब्ध योग्य फ्याकल्टीहरूबाटै शैक्षिक पदहरूको नियुक्ति गर्नुपर्ने, विगत १० वर्षदेखि तलबमा कुनै वृद्धि नभएको सन्दर्भमा मुद्रास्फीतिको प्रभावलाई ध्यानमा राखी उचित तलब वृद्धि गर्नुपर्ने, कार्यसम्पादनमा आधारित करारको कार्यान्वयन गर्नुपर्ने, जुम्ला आवतजावतको कठिनाइ तथा उडान ढिलाइ÷रद्द हुने अवस्थालाई मध्यनजर गर्दै ‘बाटो म्याद बिदा’को व्यवस्था गर्नुपर्ने, फ्याकल्टी सम्बन्धी समस्याहरू उठान तथा समाधान गर्न प्रभावकारी रूपमा काम गर्नुपर्ने र फ्याकल्टी विकास समिति गठन तथा सक्रिय बनाउनुपर्ने चिकित्सकहरुको माग छ ।
चिकित्सकले जारी गरेको विरोध वक्तव्यमा भनिएको छ, ‘आन्दोलनका कारण विद्यार्थीहरू तथा सेवाग्राहीहरूलाई असहजता र असुविधा भएको छ । यसप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछ । तथापि, आफ्ना आधारभूत हक र व्यावसायिक सम्मानका लागि आवाज उठाउनु हाम्रो बाध्यता बनेको छ । हामी अझै पनि संवाद र सहमतिबाट समाधान खोज्न इच्छुक र सम्बन्धित निकायलाई शीघ्र पहल गर्न आग्रह गर्दछ ।’
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले चिकित्सकहरूको माग तत्काल सम्बोधन गर्न कठिनाइ रहेको बताए । उनले भने, ‘लोकसेवा आयोगमार्फत बढुवा लिने विकल्प भएपनि तत्कालका लागि त्यसको वातावरण बनिसकेको छैन । चिकित्सकहरुले माग गरेजस्तो थप जिम्मेवारी दिने प्रावधान कानुनमा नभएकाले समस्या भएको हो । यसको उचित समाधान खोजी रहेका छौं ।’



