भुलभुले आसपास क्षेत्रमा सञ्चार अनियमित

जुम्ला – मुगु र जुम्ला जिल्लाको सिमा क्षेत्र भुलभुलेका आसपास थुप्रै गाउँ बस्तीमा वर्षौँदेखि प्रभावकारी सञ्चार सेवा छैन । कर्णालीकै ठुलो पर्यटकिय क्षेत्र हुदै रारातालमा थुप्रै पर्यटक आवतजावत गर्ने गर्दछन् । यो कनकासुन्दरी गाउँपालिका – १ नम्बर वडामा पर्ने भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको बास बस्ने बजार क्षेत्र पनि हो । यो क्षेत्रका स्थानीय बासिन्दादेखि पर्यटक सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् । इन्टरनेट (फोरजी) सेवाको कुरै नगरौँ । खबर आदानप्रदान फोन गर्ने नेटवर्क पनि हुदैन ।
मुगुको राराताल पुग्ने मार्गमा पर्ने यो महत्वपूर्ण स्थानमा फोन नेटवर्क नियमित रूपमा नचल्दा पर्यटक र स्थानीय व्यवसायी दुवै प्रभावित हुने गरेका छन् । कनकासुन्दरी गाउँपालिका–१ अन्तर्गत मोर्फान गाउँको डाँडामा रहेको टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा भुलभुले क्षेत्रमा सञ्चार सेवा अवरुद्ध जस्तै भएको स्थानीयको गुनासो छ

विशेषगरी रारातालतर्फ जाने पर्यटकहरू बाटोमा विश्रामका लागि भुलभुलेमै बस्ने गरे पनि सञ्चार अभावले अलपत्र पर्ने अवस्था देखिएको छ । पर्यटकीय स्थलमै सञ्चार सुविधा नहुनु दुःखद पक्ष हो । राज्यको ध्यान पुग्न नसकेको देखिन्छ । कहिलेकाहीँ मात्र सिग्नल आउने भए पनि नियमित नभएकाले पर्यटक र व्यवसायी दुवैलाई समस्या परेको हो ।


त्यो क्षेत्रमा नाग्म मुगु गमगढी सडक हुँदै नेपाल प्राधिकरणको नेशनलग्रीड र नेपाल टेलिकमको एनटी फाइबर लिज लाइन मुगुको सदरमुकाम गमगढी पुगेको छ । तर त्यहाँका स्थानीय बासिन्दाले नेशनलग्रीडको विजुली बाल्न पाएका छैनन् भने एनटी फाइबर इन्टरनेट पनि सञ्चालन गर्न पाएका छैनन् । स्थानीय व्यवसायीले भने ५० जना ग्राक भन्दा कम ग्राकलाई एनटी फाइबर इन्टरनेटको लाइन जोड्ने रहेन छ । यसले गर्दा यो सेवाबाट पनि हामी बञ्चित छौँ ।

स्थानीय होटल व्यवसायी गोविन्द भण्डारीका अनुसार नेटवर्क नियमित नहुँदा पर्यटकसँग सम्पर्क गर्न समस्या हुने गरेको बताए । भुलभुलेमा पर्यटकहरू आइरहन्छन् । तर फोन नलाग्दा सम्पर्क गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।
आकाशमा बालद लाग्यो र पानी प¥यो भने सधै नेटवर्क जाने समस्या छ । नियमित फोन सेवा हुदैन । टाढा डाडामा टेलिफोन टावर छन् । ति टेलिफोन टावर सोलार प्रणालीमार्फत सञ्चालन छन् । कतिपय टावरमा बषौँदेखिका पुराना सोलार व्याट्री छन् । चार्ज नै टिक्दैनन् । यसले गर्दा आकाशमा बादल र पानी पर्ने वित्तिकै नेटवर्क जाने समस्या वषौँदेखि झेल्दै आएको व्यवसायी भण्डारीले बताए ।


कनकासुन्दरी गाउँपालिका – १ का वडाध्यक्ष भिमबहादुर भण्डारीका अनुसार भुलभुले क्षेत्रमा फोरजी सेवा सहितको टावर अत्यावश्यक भए पनि स्थानीय तहको स्रोतले मात्र सम्भव नहुने बताए । संघीय सरकारको ध्यान अझै पुग्न नसकेको उनको गुनासो छ । नेटवर्क समस्याबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।
विकट तथा पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा नहुँदा आकस्मिक अवस्थामा पर्यटकले सहयोग माग्न समेत कठिन हुने गरेको छ । यसले पर्यटक सुरक्षामाथि समेत प्रश्न उठाएको छ । भुलभुले जुम्लाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । राराताल जाने क्रममा सवारी साधन बिग्रिएमा वा अन्य कारणले यात्रुहरू यही क्षेत्रमा बास बस्ने गर्छन् । त्यसैले यहाँ भरपर्दो सञ्चार सुविधा विस्तार गर्न राज्यले शीघ्र पहल गर्नुपर्ने स्थानीयको माग छ ।


नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराका अनुसार त्यो भुलभुले क्षेत्र आसपासका बस्तीमा नियमित रुपमा टेलिफोन नेटवर्क नहुने समस्या आएको छ । उनले भने, त्यो क्षेत्रका टावरमा विजुली पुगेको छैन । सोलार प्रणालीमार्फत सञ्चालन हुने भएकाले बादल र पानी पर्दा व्याट्री चार्ज नहुने र नियमित नेटवर्क नआउने भएको हो । यो समस्यालाई टेलिफोन केन्द्रीय कार्यालयमा जानकारी गरिएको छ । त्यहाँबाट प्राविधिक टोली आएर अध्ययन गर्ने र समस्या समाधान गर्ने छौँ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस