आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू हुने

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।

नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौंको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनु पर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको प्रमुख कोइरालाले जानकारी दिए ।

विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गर्न लागेको हो । स्थानीयवासीको सबै आवश्यकता केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम आवश्यक रहेको प्रमुख कोइरला बताए । कामपाले छनोट गरेको पाँच विषयवस्तुमध्ये इच्छानुरूप विद्यालयले एक विषय छनोट गर्न सक्नेछ । एक विषयको पूर्णाङ्क १०० हुनेछ ।

हाल कामपामा ९१ सार्वजनिक र करिब ६४३ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएका छन् । रासस

https://www.nayapatrikadaily.com/news-details/5247/2019-02-04#

 

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस