

तिला गाँउपालिका ४ नम्बर वडा कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधि । तस्विर ः नन्दराम जैशी ।
नन्दराम जैसी,
जुम्ला । यसअघि भाडाको घरबाट संचालन हुँदै आएका जिल्लाका दुई वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छन् । ६० वडा सहित आठ स्थानीय तहका ६८ वटा सरकारी कार्यालयमध्य तिला गाँउपालिका ४ र तातोपानी गाँउपालिका ४ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेका हुन् । जिल्लाका अन्य वडा तथा पालिका कार्यालय भवन निर्माणको कुनै सुरसारनै छैन । भाडाकै घरबाट संचालन भइरहेका अधिकांश वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नै नभेटिने समस्या छ । तर यि दुई वडा कार्यालयका नमुना भवनबाट सेवा सुचारु भएपछि नागरीक, जनप्रतिनिधि र कर्मचारी सबै दंग देखिन्छन् ।
वडाले आफ्नै भवनबाट सेवा शुरु गरेपछि भाडाको कार्यालयमा झै कर्मचारी र जनप्रतिनिधिलाई खोज्दै हिड्न नपर्ने तिला ४ का नन्दबहादुर शाहीले बताए । अर्का स्थानिय भद्रवीर सार्कीले गाउँपालिकाभर आफूले यस अघि यस्तो भवन नदेखेको भन्दै अत्याधुनिक सेवा सहितको भवनबाट सेवा लिँदा अच्चम लागेको सुनाए । तिला ४ को वडा भवन उद्घाटन गर्दै समन्वय समिति प्रमुख लालबहादुर सार्कीले नमुना भवनबाट नागरिकलाई गुणस्तरीय सेवा दिन कर्मचारीलाई सुझाब दिए । वडा भवन नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको एक करोड ९५ लाख ७८ हजार र गाउँपालिकाको तीन लाख ७० हजार रुपैयाँको लागतमा निर्माण भएको हो । १४ कोठाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ ।
भवनमा आधुनिक रिसेप्सन, बैठक कक्ष, मैत्री शौचालय, अध्यक्ष कक्ष, सचिव कक्षदेखि विभिन्न फाँटहरुमा भवन भित्रको संरचना निर्माण गरिएको छ । निर्माण कार्य सबै उपभोक्ता समिति मार्फत भएको हो । प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालका अनुसार अन्य वडा तथा सरकारी भवन यही शैलीमा निर्माण गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष रतननाथ योगीले भवन संरचना मात्रै नमुना नभई गुणस्तरीय सेवा प्रवाहमा पनि नमुना हुने तर्क गरे । भवन हेर्दा जतिकै आकर्षक र सहज देखिन्छ त्यसको सुरक्षामा पनि त्यत्तिकै चुनौती देखिएको उपाध्यक्ष बिष्णु बुढाले बताईन् ।