नन्दराम जैसी,
जुम्ला । जिल्लाका जो सुकै ब्यक्तिसँग रहेका अबैद्य हातहतियार र खरखजना बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले सुझाब दिएको छ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रशासनले सूचना सार्वजनिक गर्दै ३५ दिनभित्र अबैद्य अतियार बुझाउन सबैलाई आग्रह गरेको छ । कानुन बमोजिम लिनुपर्ने इजाजत, नविकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको भए पनि हतियार बुझाउन आग्रह गरेको हो ।
कसैले समयमै हतियार नबुझाएको पाइए कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार तोकिएको समयमा जोसुकैले आफैं अबैध हतियार बुझाएमा कानुनी कारबाही हुने छैन । हतियार तथा खरखजाना बुझाउन परेमा नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेना ब्यारेकमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।