हुम्ला । सेवाग्राहीले सजिलै चिन्न सकून् भनेर सरकारी कार्यालयका कर्मचारीलाई पोसाकको व्यवस्था गरिएको छ । सरकारले पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । नँया पत्रिकामा खबर छ । तर, हुम्लाका कर्मचारी पोसाक लगाउँदैनन् । उनीहरू वार्षिक पोसाक भत्ता लिएर पनि लगाउँदैनन् । यहाँका अधिकांश सरकारी कार्यालयका कर्मचारीले पोसाक लगाउने गरेका छैनन् । ‘सेवाग्राही झैँ मनलाग्दी पोसाक लगाउँछन्, कर्मचारी चिन्नै गाह्रो हुन्छ,’ एक सेवाग्राहीले भने ।
अन्य जिल्लाभन्दा दुर्गमका कर्मचारीले बढी पोसाक भत्ता पाउने गरेका छन् । दुर्गम हिमाली जिल्लाका कर्मचारीलाई २० हजार पोसाक भत्ता दिने गरिएको छ । सोमबार पनि प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, शिक्षा, कृषि, पशु कार्यालयका अधिकांश कर्मचारीले पोसाक लगाएका थिएनन् ।
हिमाली जिल्लामा पोसाक लगाउने विषय पूर्णरूपमा लागू नहुने प्रमुख जिल्ला अधिकारी धोलराज ढकालले बताए । कर्मचारी पोसाक नलगाउने गरेको स्विकार्दै प्रजिअ ढकालले भने, ‘कार्यालय प्रमुखको बैठकमा यो विषय उठाउँछु ।’ अधिकांश सरकारी कार्यालय कर्मचारी हिमाली जिल्ला भनेर पन्छिने गरे पनि यहाँका विद्यालयका कर्मचारी सधैँ पोसाकमा हुन्छन् ।
गत वर्ष कर्मचारी पोसाकका लागि वार्षिक १५ हजार भत्ता थियो । यहाँका कर्मचारीका लागि पोसाक भत्ता एक करोड ९२ लाख निकासा गरिएको थियो । जिल्लाका सरकारी कार्यालयमा एक हजार एक सय २८ कर्मचारी छन् । जसमध्ये सात स्थानीय तहमा दुई सय २१ र स्वास्थ्य संस्थामा दुई सय ३० कर्मचारी छन् ।