कर्मचारी आवास बन्यो सार्वजनिक शौचालय

कर्णाली पोष्ट दैनिक
जुम्लाको सदरमुकाम खलङ्गाको एक सरकारी भवन कर्मचारी आवास सार्वजनिक शौचालय बनेको छ । जिल्लामा आउने जोसुकै सरकारी अतिथि पाहुनाको आवासका लागि बनाईएको गेष्टहाउस भवन खुला शौचालयमा परिणत भएको हो । तत्कालीन जिविस अन्र्तगत जिल्ला प्राविधिक कार्यालयद्धारा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको करोडौँ लगानीमा भवन बनेको थियो । जिल्ला कवर्डहल पछाडी बनेको उक्त भवन करीब तीन बर्ष बितिसक्दा समेत अझै प्रयोगमा आएको छैन ।


सम्बन्धित सरोकारवाला निकायको लापारवाहीका कारण भवन अलपत्र परेको छ । प्रयोग बिहिन भवन हाल खुला शौचालयमा परिणत भएको हो । भवन बाहिरबाट हेर्दा निकै आर्कषक देखिन्छ । तर भित्र जाँदा दुर्गन्धले मान्छे भित्र पस्नसक्ने अवस्थाको छैन । भवन भित्रका सबै कोठामा दिशैै दिशा र फोहोर छ । भवन सबैको पहुँज र पायक पर्ने स्थानमा भएकाले अधिकाँश नागरिकहरु खुला शौच लागेमा सोही भवनभित्रै पस्ने गरेका छन् । भवन बाहिरका सबै भित्ताहरु अस्लिल शब्दले रंगिएका छन् । भने भवनभित्र र बाहिरका सबै झ्यालका सिसाहरु तथा ओईरिङ गरिएका विद्युतका तारहरु समेत तोडफोड गरिएका छन् ।
स्थानीय रमेश नेपालीका अनुसार अधिकाँश साँझ पख भवनको छत तथा वरिपरिका रेलिङहरुमा अबेरसम्म युवायुवतीहरु बसिरहेका हुन्छन् । भवन उनीहरुका लागि भेट्ने थलो तथा ट्यापे केटाहरुका लागि भाँङ, गाजाँ खाने गन्तब्य बनेको छ । भवनभित्र जाँगा समेत फालिएको अवस्थामा फेला परेको थियो । राज्यको करोडौ लगानीमा निर्माण भएको भवन यसरी अलपत्र अवस्थामा छोडेर खुला शौच गर्ने स्थानमा परिणत हुनुलाई नागरिकले सरकारी निकायको गम्भिर लापारवाही भनेका छन् । ‘भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ, यसलाई ब्यापारिक प्रयोगजनका लागि भएपनि लिजमा दिन उपयुक्त छ’ पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष बरमबहादुर महतले भने, ‘नत्र अब नत राज्यको उद्देश्य लागु हुन्छ, नत भवन नै रहन्छ, बेलैमा ध्यान दिँउ ।’

जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाका अनुसार भवन समितिलाई हस्तान्त्रण भएको छैन । यस बिषयमा छलफल गरी भवन प्रयोगमा ल्याईने उनले बताए । ठेकेदारलाई तत्कालिन जिल्ला प्रमुख इन्जिनियर राजकुमार गोहितले भवन निर्माणको पुरै भुक्तानी दिएको पाईएको छ । तर भवन भने कार्यालयलाई हस्तान्त्रण भएको छैन । भौतिक पुर्वाधार विकास कार्यालयका अनुसार हस्तान्त्रण नहुँदै भवन जीर्ण बन्दै गएकाले त्यसको जिम्मा ठेकेदारले लिनुपर्नेछ । यो भवनसँगै तत्कालिन जिविसद्धारा बनाउन शुरु गरिएको सभाहल समेत अलपत्र छ । नौ करोडमा बन्ने सभाहल चार करोड खर्च हुँदा पनि एक तला पुर्ण रुपमा बनेको छैन ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस