

पश्चिम नेपालकै ठुलो चिकित्सक शिक्षा संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।
नेपाल मेडिकल काउन्सिलको ५ असारमा बसेको बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृति दिने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार हाल काउन्सिलले एमडिजीपीका लागि तीन सिट उपलव्ध गराएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सहजता ल्याउने उनले बताए ।
यसअघि प्रतिष्ठानले नर्सिङको प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराउदै आएको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय एक सय जना बढी जनशक्ति उत्पादन भइसकेका छन् । शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरुवात भएको छ ।
विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति उकास्न सरकारले ठूलो लगानीका साथ वि सं २०६८ मा जुम्लामा उक्त प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा सुरुवात गरेको थियो ।
२०७० सालमा अञ्चल अस्पताल प्रतिष्ठानमा परिणत भएको थियो । एक सय शैयाको अस्पताललाई हाल तीन सय शैयामा विस्तार गरिएको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार काफ्ले बताए । दैनिक दुई सयको हाराहारीमा अन्तरङ्ग र बहिरङ्ग सेवा दिने अस्पतालमा तीन शैयाको आइसियु सेवासमेत रहेको छ । अब सिटीस्क्यान उपकरण, नाक, कान र घाँटी विशेषज्ञ सेवा सुरु गरिने उनले बताए ।