
कर्णाली पोष्ट
सरकारले ‘राष्ट्रिय परिचयपत्र’ विवरण संकलन जुम्लामा शुरु गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको उक्त अभियान जिल्ला प्रशासन कार्यालय जुम्लाले एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको फोटो खिची, फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि शुक्रवार विवरण संकलन शुरुवात गरेको हो ।
उमेर पुगेका नेपाली नागरिकहरुको एकिकृत र विश्वासिलो तथ्यांकका लागि सरकारले देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा १५ जिल्लाहरुमा वितरण गरिने योजना अनुसार जुम्लाबाट पनि राष्ट्रिय परिचयपत्र विवरण संकलन फारम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘राष्ट्रिय परिचयपत्र’ एकिकृत तथ्यांक सहितको विश्वासिलो परिचयपत्र हुनेछ । यसैगरी नागरिकहरुलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्य रहेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालयमा गई फोटो खिच्न र परिचयपत्र बनाउन प्रशासनले अपिल समेत गरेको छ । यसैगरी परिचयपत्र छाप्ने जिम्मेवारी भने फ्रान्सको एक कम्पनीले जिम्मा लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । फ्रान्सको ‘आईडिमिया आईडन्टिी सेकुरीटि कम्पनी’ ले लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।