मानदत्त रावल, जुम्ला ः हामीले नगरे अरु कसले सहयोग गर्छ भन्दै २८ औँ अपाङ्गता दिवसको पुर्वसन्ध्यामा कर्णाली नेत्रहिन संघ र अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सहयोग गरेको छ । कर्णाली नेत्रहिन संघले दिपावलीमा काठमाडौमा देउसी भैलो खेलेर संकलन गरेको रकमले अपाङ्गता भएका बालबालिका र व्यक्तिलाई न्यानो टोपी, स्वीटर, अडियो पुस्तक र सेतो छडी उपलव्ध गराएर सहयोग गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई राज्य, सरोकारवाला निकायले सहयोग गर्नुपर्ने हो तर अपाङ्ग व्यक्तिले नै दुःख जिलो गरी सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको कर्णाली नेत्रहिन संघका अध्यक्ष धनप्रसाद न्यौपानेले बताए । उनले भने राज्यले अपाङ्गता भएका व्यक्तिका लागि ऐन नियम कानुन त बनायो तर कार्यन्वयन नभएका कारण अपाङ्गता भएका व्यक्तिले दुःख भोग्न परेको गुनासो गरे ।
नेपाल कम्यूनिष्ट पार्टी जुम्लाका जिल्ला अध्यक्ष विरबहादुर कुवँरले अपाङ्गता भएका व्यक्तिलाई मुलधारमा ल्याउनका लागि राज्यले कानुन ऐन नीति नियम ल्याएपछि कार्यन्वयनका अवस्था भने कमजोर रहेको टिप्पणी गरे । उनले भने उनीहरुको अवस्था मात्रै फरक हो । उनीसँग पनि बौद्धिक क्षमता छ । राज्यका लागि केही गर्न सक्ने अवस्थामा पुगेका छन् । भौगोलिक वनावट र निर्माण हुने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण उनीहरु समस्यामा पर्ने गरेको उनको भनाई छ ।
अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार अहिलेको सुसुचित अवस्थामा पनि राज्यका सरोकारवाला निकायका व्यक्तिले अपाङ्गता भएका व्यक्ति माथि हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका विभिन्न गतिविधि देखि अन्य कार्यक्रममा पनि उनीहरुको चासो चिन्ता र सरोकार न्यून हुने गरेको टिप्पणी गरे । राज्यले अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न नीति नियम त कागजी रुपमा बनायो तर कार्यन्वयन गर्ने व्यक्ति सरोकारवाला निकाय उदासिन भएका कारण समस्या हुने गरेको उनले गुनासो गरे ।
कर्णाली नेत्रहिन संघले १७ जना दृष्टिविहिन व्यक्तिलाई सेतो छडी दिएको थियो भने ३ जनालाई स्वीटर र ४ जना दृष्टिविहिन व्यक्तिलाई अडियो पुस्तक उपलव्ध गराई सहयोग गरेको छ । त्यसैगरी अपाङ्ग पुर्नस्थापना विकास केन्द्र जुम्लाले कर्णाली माध्यामिक विद्यालयका ३५ बैरा बालबालिकालाई टाउजर र जनता माध्यामिक विद्यालयका ६५ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई न्यानो टोपी उपलव्ध गराएको छ ।