त्रिवेणी पक्की पुल ः दुई बर्षमा बनाउनुपर्ने पुल साढे तीन बर्षसम्म दुइ पिलर मात्रै

जुम्ला ः  तिला गाउँपालिकाको त्रिवेणीस्थित तिला नदीमा पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका थिए । तर, दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल साढे तीन वर्षसम्म पिलर मात्रै बनेपछि चिन्तित बनेका छन् ।

तिला नदीको पुल निर्माणका लागि ५ असार, ०७३ मा चीराचन्द अञ्जली भेजी कम्पनीसँग सम्झौता भएको थियो । तीन करोड ९६ लाख ८० हजार रुपैयाँमा भएको सम्झौतामा २३ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म पिलर मात्रै निर्माण भएको स्थानीय शान्तिनाथ योगीले बताए । ‘दुई पिलर मात्रै निर्माण भएका छन, आवतजावत गर्न झन् समस्या भएको छ,’ उनले भने ।

तिला गाउँपालिकाको त्रिवेणी, ताम्ती टोप्ला हुँदै जाजरकोट, सुर्खेतको छिन्चु जोड्ने सडकका लागि पुल निर्माण हुन लागेको हो । तर, समयमै निर्माण नहुँदा समस्या भएको तिला गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर बुढाले बताए । ‘अहिले पुल अलपत्र अवस्थामा छ । ओहोर–दोहोर गर्न निकै समस्या भएको छ,’ वडाध्यक्ष बुढाले भने ।

अहिले निर्माणको काम पनि रोकिएको छ । यसअघि निर्माण गरिएका पिलर पनि अलपत्रजस्तै छन् । निर्माण कम्पनीलाई ताकेदा गर्दा पनि वास्ता नगरेको वडाध्यक्ष बुढाले बताए ।
तिला नदीको पुल निर्माणका लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का दिएको थियो । अहिले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको छ । भौतिक पूवाधार विकास कार्यालय, जुम्लाका योजना शाखाका अधिकृत लक्ष्मणप्रसाद पाण्डेले सम्झौता सकिएको बताए ।

गत वर्षको जेठमै सम्पन्न गर्नुपर्ने पुल अहिलेसम्म नसकिएको उनले बताए । ‘ठेक्का सम्झौताको म्याद सकिएको छ, अहिले म्याद थपको प्रक्रियामा छौँ,’ उनले भने । म्याद थप भएपछि निर्माण हुने उनको भनाइ छ ।

पुल नहुँदा सास्ती
पुल निर्माण नहुँदा सास्ती खेप्नुपरिरहेको तातोपानी गाउँपालिका–८ बारागाउँका शेरबहादुर रावतले बताए । ‘सडक छ, तर त्रिवेणीमा पुल नहुँदा किनारतिरै रोक्नुपर्ने अवस्था छ,’ उनले भने । सवारीसाधन सञ्चालन नहुँदा स्थानीय उत्पादन बजारसम्म ल्याउन नसकिएको उनको भनाइ छ ।

त्यस्तै, तातोपानी गाउँपालिकाको लामाबगरमा स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर छ । पुल नहुँदा नदी तरेर स्वास्थ्य सेवा लिन समस्या भएको स्थानीय बासिन्दाले बताए । लामाबगरसम्म सडक पुगे पनि पुल नबन्दा बिरामीलाई बोकेरै स्वास्थ्यचौकी पु¥याउनुपरिरहेको स्थानीय बासिन्दाले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस