जुम्लाको तातोपानीमा खस भाषामा पठनपाठन

जुम्ला ः  जुम्लाको तातोपानी गाउँपालिकाका विद्यालयमा जुम्ली खस भाषामा पठनपाठन गर्ने गरिएको छ । यहाँका २५ विद्यालयमा स्थानीय खस भाषमा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गरिएको हो । लोपोन्मुख खस भाषालाई जोगाउनका लागि गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको हो ।

गाउँपालिका भरीका २८ विद्यालय मध्ये २५ विद्यालयको १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्यापन सुरु गरिएको थियो । आगामी फागुन महिनादेखि सुरु हुने नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन शूरु हुने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाईले बताए । आगामी नयाँ शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गर्ने छन् ।

स्थानीय खष भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदै डाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुर ज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबार जस्ता विषयबस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईले बताए ।

त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक धार्मिक र ऐतिहासिक सम्पदा सहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडा जस्ता जडीबुटी सम्वन्धी पाठ्यपुस्तकमा विषयबस्तु राखिएको गाउँपालिकाले जनाएको छ । पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काइएको छ । तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाई छ ।

तातोपानी गाउँपालिका – ५ श्रीनगरस्थित कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य बस्तु समटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको बताए । खस भाषको पाठ्यपुस्तकले स्थानीय बालबालिकालाई यस प्रतिको लगाब बढाउने स्थानीय भैर चनराले बताए ।

प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस