जाडो छल्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

मानदत्त रावल, जुम्ला ः  निरन्तरको हिमपातका कारण अत्यधिक चिसो बढेपछि तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

तिलाको तापक्रम माइनस ७ दशमलब २ डिग्री सेल्सियससम्म झरेपछि गाउँपालिकाले गाउँपालिकामा रहेका ७० वर्ष नाघेका चार सय ४० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । त्यसमध्ये तिला गाउँपालिका–२ का ज्येष्ठ नागरिकलाई गाउँपालिका कार्यालयमै बोलाएर कम्बल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले बताए ।

सडक छेउछाउमा रहेका बस्ती र दुर्गम क्षेत्रका वडामा भने सम्बन्धित वडा कार्यालयलाई नै कम्बल वितरण गर्ने जिम्मा दिइएको बस्नेतले जानकारी दिए । चिसो बढेर समस्या भइरहेका बेला गाउँपालिकाले कम्बल वितरण गरेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले दूरदराजको बस्तीमा गाउँमै पुगेर कम्बल वितरण गरिने बताए ।

पहिलो दिनमा वडा नम्बर २ का ४९ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि तीन लाख रुपैयाँ विनियोजन गरेकोमा सोही रकमबाट कम्बल खरिद गरिएको हो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको विवरण संकलन गरेर कम्बल झिकाइएको महिला शाखा प्रमुख गौरी थापाले जानकारी दिइन् । गाउँपालिका उपाध्यक्ष बुढाले गाउँपालिकामा भएको साधन स्रोत ज्येष्ठ नागरिकमैत्री बनाउन पहल भइरहेको बताइन् ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस