खलंगामा एक मेगावाटको सौर्य ऊर्जा बन्ने

जुम्ला सदरमुकाम खलंगामा नियमित विद्युत् आपूर्ति नभएपछि कर्णाली प्रदेश सरकारले एक मेगावाटको सौर्य ऊर्जा (सोलार प्लान्ट) स्थापना गर्ने भएको छ ।

सौर्य ऊर्जा स्थापनाका लागि आवश्यक तयारी भइसकेकाले ६ महिनाभित्र खलंगामा विद्युत् आपूर्ति भइसक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘जुम्ला लामो समयसम्म अँध्यारोमा बस्यो । केही वैकल्पिक उपाय सोचिए, तर त्यसबाट राहत मिलेन । विद्युत आपूर्तिको अल्पकालीन समाधानका लागि एक मेगावाटको सोलार प्लान्ट राख्न लागिएको हो,’ उनले भने, ‘यो परियोजनाले जुम्लाको सदरमुकाम खलंगा उज्यालो हुनेछ ।’

यो प्लान्टले राष्ट्रिय प्रसारण लाइन नपुग्दासम्म नियमित रूपमा विद्युत् आपूर्ति हुने मन्त्री भण्डारीले बताए ।

जुम्लाको खलंगालाई ६ महिनाभित्र विद्युत आपुर्ति गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उत्पादक कम्पनी र वैकल्पिक ऊर्जाको इडिसँग बसेर छलफल भइसकेको हो ।

६० प्रतिशत अनुदान, २० प्रतिशत सहुलियत कर्जाबाट उत्पादकहरूले निर्माण गर्ने गरी प्रक्रिया अघि बढिसकेको बताइएको छ ।

सोलार प्लान्ट राख्न यसअघि प्राविधिक टोली पुगेर अध्ययनसमेत गरेको थियो । ‘वैकल्पिक ऊर्जाको टोली पुनः अध्ययन गर्न आउँदै छ, डिपिआरसमेत बन्दै छ’, कानुनमन्त्री भण्डारीले भने, ‘जुम्ला उज्यालो बनाउने अभियान अघि बढिसकेको छ । अब धेरै दिन अँध्यारोमा रहने छैन ।’

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको पहलमा तत्काल विद्युत् आपूर्ति सहज बनाउन ५० लाख रुपैयाँ छुट्याएर डिजेल प्लान्ट ल्याइएको थियो । तर यसबाट केही समय बिजुली आपूर्ति भए पनि नियमित डिजेल खर्च जुटाउन नसक्दा त्यो डिजेल प्लान्ट थन्किएको छ ।

जुम्लावासीले अँध्यारोमा रात बिताउन थालेपछि नेपाल विद्युत् प्राधिकरणले अर्को डिजेल प्लान्ट पठाएको थियो । त्यो पनि हाल थन्किएको छ ।

अहिले दुईवटा डिजेल प्लान्ट, विद्युत गृहमा दुईवटा टर्बाइन छन् । तर, नियमित बिजुली आपूर्ति हुन सकेको छैन । डिजेल व्यवस्था गर्न नसक्दा डिजेल प्लान्ट थन्किएका हुन् ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खलंगामा आयोजित कृषि महोत्सवलाई सम्बोधनका क्रममा खलंगाको विद्युत् समस्या समाधान गर्न सोलार प्लान्ट राख्ने आश्वासन दिएका थिए ।

हप्तामा एक दिन बिजुली  
बिजुलीको माग धेरै र क्षमता कम भएका कारण चन्दननाथ नगरपालिकास्थित खलंगाको साना जलविद्युत् आयोजनको मेसिनमा पटक पटक समस्या आउनाले उपभोक्ताले सातामा एक दिन मात्र विद्युत् उपभोग गरिरहेका छन् ।

सुरुमा दुई सय किलोवाट उत्पादन भएको आयोजना पछिल्लो समय ८० किलोवाटमा सीमित भएको छ ।

पछि भारतीय राजदूतावासले विद्युत् समस्यालाई समाधान गर्न २ करोड ६३ लाख ७७ हजार सहयोग दिएको थियो । मर्मतपछि २ सय किलोवाट बिजुली उत्पादन भयो । तर सो रकमले दुई वटा टर्बाइन जडान गर्दा पनि पटक–पटक बिग्रिएर उत्पादन हुन पाएको छैन ।

जलविद्युत् उपभोक्ता समितिले चार एकको फरकमा बिजुली आपूर्ति हुने जनाए पनि हप्तामा एक दिन मात्र बिजुली आउने गरेको चन्दननाथ नगरपालिका–७ का धनराज सार्कीले बताए ।

हाल चन्दननाथ नगरपालिकामा झण्डै ३ हजार सेवाग्राहीले नियमित विद्युत् उपभोग गर्न पाएका छैनन् ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस