
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नौ महिनाअघि गठन गरेको छाया मन्त्रिपरिषद् बैठक आइतबार बसेको छ । बैठकमा पार्टी सभापति तथा छाया सरकारका संयोजक शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सक्रियता र सरकारविरुद्ध निगरानी बढाउन छाया मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा देउवाले तोकिएको जिम्मेवारीअनुसार काम गर्न पनि सदस्यहरूलाई निर्देशन दिएका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा देउवाले अधिकांश समय सरकारले ल्याएको विधेयक र भ्रष्टाचारको विषयमा आक्रोश पोखेका थिए ।
निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेससम्बन्धी अडियो सार्वजनिक भएपछि देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको स्पष्ट भएको बताए। ‘यसले अनियमितताको जालो सबैतर्फ छ भन्ने संकेत गरेको छ’, देउवाले भने, ‘त्यसकारण तपाईंहरूले अझै सक्रियता बढाउनुप-यो ।’
बैठकमा छाया मन्त्रीहरूले जिम्मेवारी पाएको मन्त्रालयको रिपोर्ट देउवालाई ब्रिफिङ गरेका थिए । जिम्मेवारी सम्हाल्दा देखापरेका कठिनाइका विषयमा पनि उनीहरूले देउवालाई जानकारी गराए ।
छाया मन्त्रीहरूले बैठक नियमित बस्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले जिम्मेवारी पाएका मन्त्रालयको पनि नियमित रूपमा निगरानी गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, राधेश्याम अधिकारी, डा.डिला संग्रौला, राजन केसी, अतहर कमाल मुसलमान, भीमसेनदान प्रधान, उमा रेग्मी, पार्वता डिसी चौधरी, बहादुरसिंह लामा, सुजाता परियार, किशोरसिंह राठौर, रंगमती शाहीलगायत छाया मन्त्रिमण्डलका २१ सदस्य उपस्थित थिए ।
बैठकमा उनीहरूले सांसदहरूका लागि विज्ञ आवश्यक परेको भन्दै माग गरेका थिए । ‘कतिपय विषयको जानकारी नहुँदा हामी पनि अलमलमा छौं’, छाया मन्त्रिमण्डलका सदस्यहरूले भने, ‘मन्त्रालयमा कसरी निगरानी राख्ने, सक्रियता बढाउने विषयमा विज्ञको आवश्यकता छ ।’
यसैगरी मिनी संसदभित्र पनि सक्रिय भूमिका निर्वाह गर्न आवश्यक भएको भन्दै उनीहरूले ‘छाया संसदीय समिति’ गठनको पनि माग गरेका छन् ।
संसदको शून्य र विशेष समयमा भ्रष्टाचारको विषयलाई व्यापक रूपमा उठाउनुपर्ने उनीहरूले बताए । साथै सदन, सडक र संगठनमार्फत प्रतिपक्षको भूमिका सशक्त रूपमा निभाउनुपर्ने उनीहरूले धारणा राखेका थिए ।
उनीहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी रूपमा भण्डाफोर अभियान नै चलाएरै लैजान देउवालाई सुझाए । बैठकमा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत उपस्थित थिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कामको निगरानीका साथै खबरदारी गर्न ६ जेठ ०७६ मा कांग्रेसले सभापति देउवाको संयोजकत्वमा छाया सरकार बनाएको थियो ।
https://www.nayapatrikadaily.com/news-details/36964/2020-02-23