
जुम्ला ः हिमा गाउँपालिकाले कोरोना भाइरसबाट बच्नका लागि गाउँपालिका भरीका प्रत्येक घरधुरी सदस्यलाई माक्स र सावुन वितरण गर्दै आएको छ । पालिकामा १२ हजार ६ सय १२ जनसंख्या रहेको छ । यस भाइरसबाट बच्नका लागि सवै भन्दा उत्तम उपाया भनेको सफासँग सावुन पानी हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्ने हुन्छ स्वास्थ्यकर्मी मेनका देवकोटाले भनिन् होम क्वारेन्टाइनमा बस्नु पर्दछ । अहिले यहाँका आम नागरिकलाई यहि विधि नै सिकाउने गरेका छौँ ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कोरोना भाइरसले देश संकटमा परेको अवस्थामा सावुन र माक्स बोकेर नागरिकको घरदैलोमा पुग्ने गरेको बताए । उनले भने सवै भन्दा पहिला हामीले रोग लाग्नबाट बच्नका लागि सावधानी अपनाउन नै उत्तम हुन्छ । भिडभाडमा नगएर घरभित्रै बस्न आवश्यक भएकाले सवै नागरिकलाई सम्झाउने गरेको उनले बताए । गाउँपालिका भरीका सवै घरधुरीमा पुगेर सवै परिवार सदस्यलाई माक्स र सावुन वितरण गर्ने योजना रहेको उनले बताए ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले आफ्नो व्यक्तिगत लगानीमा स्थानीय बासी देखि कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्ड अन्र्तगत सवार यात्रुलाई समेत माक्स वितरण गरेकी थिइन् । नेपाली काँग्रेस युवा नेता लक्ष्मण शाहीले पनि आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि माक्स वितरण गर्दै आएका छन् ।
थर्माेस्क्यान नहुदा समस्या
सिंजा भेगमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेस्कसहित ६ स्थानमा क्वारेनटाइन स्थापना गरेको छ । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्माेस्क्यान नहुदा चेकजाँचमा समस्या भईरहेको छ ।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार (नन्टच) थर्माेस्क्यान खरिद गर्नका लागि धेरै ठाउँ पहल गरियो तर पाउन सकिएन । उनले भने जोखिम मोलेर भएपनि अहिले स्वास्थ्यकर्मीले काखीमुनि च्यापेर ज्वरो नापचाँज भईरहेको छ । हिमा गाउँपालिका सिंजा भेग र मुगु जिल्ला जाने प्रवेशद्धारमा पर्दछ ।
यहाँका बासिन्दा अहिले कोरोना भाइरसको त्रासले भारतबाट धेरै जिल्लामा आउने गरेका छन् । बाहिर जिल्लाबाट आउने जोसकै व्यक्तिलाई अहिले सहजै आफ्नो घरभित्र जानदिएका छैनौ अध्यक्ष शाहीले भने उनीहरुलाई पहिला क्वारेनटाइनमा राख्ने गरेका छौँ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाका अनुसार विद्यालयमा क्वारेनटाइन स्थापना गरेका छौँ । अहिले मानु मावि पाथरखोलामा ५ जना र राहदेव मावि मोफ्ला क्वारेनटाइनमा १९ जनालाई राखेका छौँ । क्वारेनटाइनका लागि स्थानीय स्तरबाट जुटाउन सक्ने खाने बस्ने लत्लाकडा सवै व्यवस्थापन भयो तर ज्वरो नाप्ने थर्माेस्क्यान नपाउदा समस्या भएको उनले बताए ।
त्यसैगरी हिमा गाउँपालिका – २ का हकमा आधारभुत विद्यलाय स्यारगाउँ, वडा नं. ४ को हकमा कुलदेव प्रावि चिउडी, वडा नं. ५ को हकमा कालिका मावि बुअ, वडा नं. ६ को हकमा भानु मावि पाथरखोला, वडा नं. ७ को हकमा अन्नपूर्ण मावि धाचुगाउँ र वडा नं. १ र ३ का लागि राहदेव मावि मोफ्लामा क्वारेन्टाइनको व्यवस्थापन गरिएको जनाएको छ ।
स्थानीय प्रशासन, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला निकायलाई (नन्टच) थर्माेस्क्यान व्यवस्थापनका लागि पहल गरिदिन अनुरोध गरिएको हिमा गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा अहिले अहेव बाहेक अरु माथिल्लो दक्ष चिकित्सक नभएकाले पनि समस्या भईरहेको जनाएको छ ।