जुम्ला ः जुम्लाको सिंजा भेग एक पर्यटकिय क्षेत्र हो । यो क्षेत्रमा आवत जावत बढी नै हुने गर्दछ । यहाँका स्थानीय व्यापार व्यवसायको लागि छिमेकी राष्ट्र भारत देखि तेस्रो मुलुकसम्म पुग्ने गर्दछन् । मंसिर महिना जाने र चैत महिना आफ्नो गृह जिल्लामा आउने उनीहरुको पुरानै चलन हो ।
कतिपय स्थानीय बाह्रै महिना जिल्ला बाहिर बसेर व्यवसाय पनि गर्ने गर्दछन् । तर यस बर्ष विश्वभर कोरोनाको त्रास भएपछि सिंजाका स्थानीय बासी आफ्नो गृह जिल्ला आउने क्रम बढ्दो क्रममा रहेको स्थानीय उपेन्द्र न्यौपानेले बताए । उनले भने कोरोनाको संक्रमणका कारण सरकारले देश नै लकडाउन गरेपछि यहाँका स्थानीय रात अर्धरात आफ्नो घरमा पुग्ने गरेका छन् ।
यहाँका स्थानीय बाहिर जिल्लाबाट आउने गरेकाले एक अर्काेको घरमा नजाउन र केही रुपमा उनीहरुलाई बन्देज होस भनेर कनकासुन्दरी गाउँपालिका – ५ लुड्कु गाउँका स्थानीय युवाले आवत जावत गर्ने मुल बाटो नै बन्द गरेका छन् । आवत जावत गर्ने मुल बाटोमा (बाटो वन्द) जुवा र काँडाले बार बारिएको छ । स्थानीय उपेन्द्र न्यौपानेका अनुसार चैत २५ गतेसम्म एक घरबाट अर्काे घर नजाने, छोरी बहिनी, इष्टमित्र कसैलाई पनि लुड्कु गाउँमा प्रबेश गर्न निषेध गरिएको छ ।
२० बेडको क्वारेन्टाइन
कनकासुन्दरी गाउँपालिकामा कोटघर स्वास्थ्य चौकीमा १० क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । जिल्ला बाहिरबाट आएका स्थानीयलाई सहजै आफ्नो घरमा बस्न नदिएर १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको स्वास्थ्यकर्मी दामोदर आचार्यले बताए । उनले भने हाडसिंजा स्वास्थ्य चौकीमा पनि १० बेडको क्वारेन्टाइन बनाएको छ । कोरोना भाइरसबाट बच्न यहाँका स्थानीय बासीलाई एक घरबाट अर्काे घर नजाने, भिडभाडमा नजाने, सावुन पानीले हात धुने र मास्कको प्रयोग गर्ने जस्तो विधिहरु सिकाएको उनले बताए ।