
सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमध्ये अधिकांशबाट परीक्षण सुरु भइसकेको र बाँकीको बुधबार बेलुकाबाट सुरु हुने जनाएको हो ।
मंगलबार परीक्षणका लागि मेसिन पुगेसँगै बुधबार साँझसम्ममा सबै प्रदेशबाट कोरोनाको नमुना परीक्षण हुने मन्त्रालयले जनाएको छ ।
धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भएको हो ।
अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण भएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा सुरु गरिएको जानकारी दिए ।
उनले अहिलेसम्म तीनवटा नमुना परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एकजनाको भने रिपाेर्ट आउन बाँकी रहेको बताए ।
प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बुधबार साँझबाट नमुना परीक्षण सुरु हुने प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।
उनका अनुसार यी चारै स्थानमा नमुना परीक्षणका लागि पाेर्टेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जनशक्ति खटाइसकेको छ ।
https://www.nayapatrikadaily.com/news-details/40129/2020-04-01