
विजय रावत, जुम्ला ः जुम्लाका चार स्थानीय तहका करिब पाँच सय घरधुरीलाई राहत वितरण गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बचाउन सरकारद्वारा घोषित लकडाउनमा काम गर्न नपाएर हातमुख जोड्न धौधौ भएका घरपरिवारलाई यहाँको चन्दननाथ नगरपालिका भित्रका दुई सय घरधुरी, तिला गाउँपालिका एक सय, गुठिचौर गाउँपालिका एक सय र कनकासुन्दरी गाउँपालिका भित्रका एक सय घरधुरीलाई राहत प्रदान गर्न थालिएको हो । जुम्लाका पुर्व सविधान सभाका सदस्य देविलाल थापाको समन्वयमा द आर्ट अफ लिर्भिङ सेन्टर काठमाडौद्धारा यहाँका चार स्थानीय तहसंग समन्वय गरेर निशुल्क ५५ कुन्टल चामल र अन्य खाद्यन्न सामग्री सहयोग गरेको सो संस्थाका संचालक बिमल केडियाले बताए ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाका चार स्थानीय तहका गरिब घरधुरीलाई सहयोग गर्न पाउदाँ आफु निकै खुसी भएको संचालक केडियारले बताए । संस्था भनेको मानवीय सेवामा काम गर्न भएकाले लकडाउनका कारणले खाद्यन्न अभावले यहाँका नागरिकलाई परेको समस्यालाई मध्यनजर गरेर संस्थाले नेपालगंजबाट जुम्ला सिधै खाद्यन्न सहयोग गरेको केडियाले बताए ।
तिला, गुठिचौर र कनकासुन्दरी गाउँपालिकाले अति गरिब घर परिचान भएका एक सय घरधुरीलाई ११ किलोको दरले चालम, साढे एक किलो दाल, एक लिटर तेल, १५ पाकेट चाउचाउ र साबुन वितरण गरिने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
चन्दननाथ नगरपालिका भित्रका दुई सय घरधुरी लाई पनि नगरले पहिचान गरेका अति गरिब घरधुरीलाई राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
स्थानीय तहले कमाईखाने जमिनसमेत नभएर दैनिक ज्याला मजदुरीमा निर्भर सदा समुदायलाई घोषित लकडाउनले घरबाहिर निस्कन नदिएपछि राहत प्याकेज ल्याइएको अध्यक्ष योगीले बताए ।
लकडाउन सुरु भएपछि काममा जान नपाउँदा विचल्लीमा पर्ने भन्दै सदा समुदायसँगै गरिव, विपन्न र श्रमिक वर्गलाई लक्षित गरी तथ्यांक संकलन गरेर राहत वितरण गरिने चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् ।