नुनको खोजिमा बारेकोटको घाटबजार आएका बारेकोट २ सेरीका स्थानीय। तस्बिर : राजेन्द्र कार्की
बारेकोट (जाजरकोट) : जाजरकोटको बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैयाँमा बिक्री भएको पाइएको छ। सदरमुकाममा एक केजीको ९ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
जिल्लाको सबैभन्दा विकट बारेकोट गाउँपालिकामा नुन बिक्री डिपो नहुँदा स्थानीय चर्को मुल्य तिर्न बाध्य भएका हुन् । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ ।
ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मुल्यमा बिक्री गर्ने गरेका छन् । लकडाउनका कारण गाडी चल्दैनन् । प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्याक्टरमा र त्यसपछि घोडा खच्चडमा लगेको नुन व्यापारीले मनोमानी रुपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुक दर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयको गुनासो छ ।
बारेकोटमा व्यापारीले निजी लगानीमा खरीद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको स्थानीयको भनाइ छ । सदरमुकाममा ९ रुपैयाँ पोका पाइने नुन बारेकोटमा ६÷७ गुणा बढी मुल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट २ ध्यारगाउँका मनवीर परियारले बताए ।
६० रुपैयाँ हाल्दा पनि नुन पाउन मुस्किल हुन्छ । उनले भने, ‘त्यही पनि हारालुछ हुन्छ । नुन खानै पर्यो । खाने नुन नहुँदा व्यापारीले भने अनुसारको भाउमा किन्न बाध्य छौं।’ मानिसका साथै पशुचौपायालाई खुवाउनुपर्ने भएकाले पनि गाउँघरमा बढी नुन खपत हुने गर्दछ ।
बारेकोटमा भएको नुनको संकट टार्न गाउँपालिकाले ढुवानी अनुदानको तीन हजार किलो नुन किनेर लगेको छ । पहिलो चरणमा प्रत्येक घरमा एक केजी ( एक पोका ) नुन वितरण गर्छौं, गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भने, ‘निजी क्षेत्रबाट ढुवानी ठप्प छ । स्थानीयको आवतजावत बन्द छ । केही व्यापारीले लिएको नुनको मुल्य निकै महँगो हुँदा स्थानीय मर्कामा परेका छन् । त्यही भएर गाउँपालिकाले अग्रसरता लिएर नुन वितरण थालेको हो ।’
नुनको समस्या बर्षेनि हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाई नभएको अध्यक्ष शाहले बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए ।
तर, बारेकोटलगायतका दुर्गम गाउँपालिकामा नुनको केही समस्या देखिएको छ ।प्रमुख जिल्ला अधिकारी पन्तले चर्को मुल्यमा बिक्री गरेको पाइए उजुरी गर्न आग्रह गरे । ‘संकटको बेला कालोबजारी गर्नेलाई कारवाही हुन्छ, उनले भने, ‘९ रुपैयाँमा पाइने एक किलो नुनको ६० रुपैयाँ लिन पाइदैन।’
अन्नपुर्ण पोष्ट दैनिक……