
कर्णाली प्रदेशमा दुई महिनालाई पुग्ने खाद्यान्न बचत रहेको छ । कर्णाली प्रदेश सरकारले एक हप्ताका लागि खाद्यान्न आयातमा रोक लगाएको छ ।
कर्णााली प्रदेश सरकारले खाद्यान्नमा आयातमा रोक लगाए पनि दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सुर्खेतले जनाएको छ ।
दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको खाद्य संस्थान कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताए ।
‘हामीसँग दुई महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ,’ उनले भने, ‘कर्णालीको जनसंख्या १८ लाख हो । यो खाद्यान्नले कर्णालीमा दुई महिना खाद्यान्न पुग्छ ।’
हाल कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय नभएको र अन्य जिल्लामा अहिले खाद्यान्न मौज्दात रहेको प्रमुख थापाले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा आठ हजार सात सय १५, हुम्लामा सात हजार ४०, मुगुमा चार हजार आठ सय ७२, डोल्पामा ६ हजार सात सय ७४ क्विन्टल खाद्यान्न मौज्दात रहेको जनाएको छ ।
त्यसैगरी जुम्लामा तीन हजार एक सय ६१, दैलेखमा पाँच सय, कालिकोटमा दुई हजार नौ सय ११, जाजरकोटमा चार हजार दुई सय १८ र रुकुम पश्चिममा तीन सय ९० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।
कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएका कारणले सीमानाका सात दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सात दिनभित्र कुनै पनि खाद्यान्न बाहिरबाट प्रदेश भित्र ल्याउन नदिने निर्णय गरिएको छ ।
https://www.nayapatrikadaily.com/news-details/42739/2020-05-05