बालबालिकालाई पोषणयुक्त आहारा वितरण

जुम्ला : मुलुकभर कोरोना भाइरस फैलिँदो अवस्थामा छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्न देश डेढ महिनादेखि लकडाउनमा छ । लडकडाउन भएपछि सब विद्यालय बन्द छन् ।लकडाउनका कारण विपन्न घरपरिवारलाई जीवनयापन गर्न समस्या भइरहेको अवस्थामा चन्दननाथ नगरपालिकाको सदरमुकाम खलंगा बजारस्थित अशोक नमुना प्राथमिक विद्यालयका विपन्न बालबालिकालाई पोषणयुक्त आराहा वितरण गरेको छ ।

विद्यालयमा दुई सय अध्ययनरत बालबालिकामध्ये पहिलो चरणमा ५० जना विपन्न बालबालिका छनोट गरी पोषणयुक्त आहाराअन्तर्गत एक–एक क्यारेट  अन्डा, हर्लिक्स, साबुन र घरमा पढ्नका लागि बालकथाका किताब उपलब्ध गराएको हो ।

मानवता फाउन्डेसन क्यानडाको ४० हजार सहयोगमा बालबालिकालाई पोषणयुक्त आहारा वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देश नै लकडाउन (बन्दाबन्दी) गरेपछि सबै विद्यालय बन्द छन् ।

यस्तै, बालबालिकाको पठनपाठनलाई सहज बनाउन र उनीहरूले पढेका कुरा स्मरण गराउन विद्यालय रेडियो खुला आकाशसँगको समन्वयमा रेडियो सुनापढी कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक भगवती श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस