मानदत्त रावल, जुम्ला ः मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी र सुरक्षार्कीसँग सगै जनप्रतिनिधि पनि अग्रपंतीमा छन् । जनप्रतिनिधि पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रत्यक्ष रुपमा खटिनु पर्ने भएकाले पनि जोखिममा परेका हुन् ।
यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले कोरोना विशेष बीमा गरेका छन् । त्यसैगरी चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सुजुवालले पनि कोरोना विशेष बीमा गरेकी छन । उनीहरुले एक÷एक लाखको कोरोना बीमा गरेका हुन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम जुम्लामा सञ्चालन गरेपछि जनप्रतिनिधिले पनि कोरोना विशेष बीमा गरेका हुन् ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले भने अहिले जनप्रतिनिधि पनि कोरोना भाइरसको जोखिममा छन् । बाहिर जिल्लाबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने देखि उनीहरुको रेखदेख र अनुगमन, सुपरीवेक्षण गर्ने भएकाले जनप्रतिनिधि पनि यो संक्रमणको जोखिममा रहेको उनले बताए ।
खासगरी यहाँका स्थानीय संघ संस्था, सहकारी, व्यापारी र नागरिक कोरोना विशेष बीमा गर्ने गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले बताए । अहिलेसम्म जुम्लामा तीन सय जनाले कोरोना विशेष बीमा गरेको उनले बताए । ५० हजार देखि एक लाखसम्म कोरोना बीमा गर्ने गरेका छन् ।
बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक पाण्डेले जानकारी दिए ।
व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, ‘बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।’ यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य ६ सय लाग्नेछ । ५० हजारको बीमा गरेमा पाँच सय बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति तीन थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एकजना कर्मचारीको एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी ६ सय बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । ५० हजारको बीमा गरेमा एक कर्मचारी पाँच र कर्मचारी थप भएपछि प्रतिव्यक्ति तीन सय का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।
कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।