मानदत्त रावल, जुम्ला :
जुम्लाको सदरमुकाम खलंगा बजारको फोहोर नउठाएको आधा बर्ष बढी भएको थियो । बजारको सडकमा कुहिने र नकुहिने फोहोर बस्तु जताततै देखिन्थ्यो । बजार दुर्गन्धित त थियो नै । त्यो भन्दा बढि फोहोरले खलंगा बजार कुरुप बन्दै गएको थियो । यो बीचमा न कसैले बजार सरसफाईमा चासो दिए, नत सरसफाई गरे । दिन प्रतिदिन बजार फोहोर बन्दै गएपछि स्थानीय युवाले बजारको फोहोर संकलन गरेर चन्दननाथ नगरपालिका र प्रशासनको परिसरमा फोहोर थुपारेपछि सरोकारावालाको ध्यानाकर्षण गरेपछि आधा बर्षपघि उठाएको हो ।
गएको विहिबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आकस्मिक बैठक बसेर शनिबार बजार सरसफाई गर्ने योजना बन्यो । सोही योजनाको अनुसार जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमख, नगर प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघ, पत्रकारलगाएको अगुवाईमा सरसफाई गरिएको हो । प्रमुख जिल्ला अधिकारीको रुपमा जुम्ला आउने धेरै प्रजिअदेखि अन्य अभियान्ताहरु यहाँ जताततै फोहोर देखेर सरसफाईका अभियान सञ्चालन गर्दै आएका छन् । तर यहाँ दीर्घकालिन रुपमा व्यवस्थापन गर्ने डम्पिङ साइड समयमा व्यवस्थापन नभएका कारण यस्तो अभियान असफल हुने गरेका छन् । सरसफाई गरेको अवस्थामा बजार सफा देखिने केही समयपछि उस्तै हुने गरेको छ ।
शनिबार सरसफाई गरी उठाएको फोहोर चन्दननाथ नगरपालिका – ४ खालगाडस्थित अल्पकालिन रुपमा व्यवस्थापन गर्ने निर्णय भएपनि स्थानीयको विरोधपछि कालेखोली क्षेत्रमा गाड्ने तयारी गरिएको वडाध्यक्ष अजबहादुर रावलले बताए । उनले भने विश्वलाई नै आक्रान्त पारेको कोरोना माहामारीको संकटमा त समुदायले सहयोग गरेन । फोहोर व्यवस्थापन सहयोग गर्ने सामान्य नै हो । फोहोर व्यवस्थापनका लागि दीर्घकालिन रुपमा यहाँको दुनादुनैमा डम्पिङ साइट बन्दै छ । त्यहाँ पुग्ने सडक बन्दै छ । तर अहिले अल्पकालिन रुपमा कतै व्यवस्थापन गर्न खोज्दा समुदायले असहयोग गर्दै आएको उनले बताए ।
चन्दननाथ ५ र ७ को कालेखोली, कृष्ण मन्दिर, जिल्ला प्रहरी कार्यालय,जुगाडखोला देखि बीजयनगर सम्मको क्षेत्र सरसफाई गरिएको हो । बजारबाट संकलन गरेको फोहोर चन्दननाथ नगरपालिकाको टिप्परले कालेखोली क्षेत्रमा गाड्ने योजना रहेको वडाध्यक्ष रावलले बताए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, नगरप्रमुख कान्तिका सेजुवाल, उद्योग बाणिज्य संघ, नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्सेवक कर्मचारी, युवा,गैरसरकारी संस्थाका प्रतिनिधि, चन्दननाथ सहकारीका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागितामा सरसफाई गरिएको हो ।
जुम्ला सदरमुकाम खलङ्गा बजारको फोहोर तत्कालका लागि रुपमा खालगाड भन्ने स्थानमा निर्णय समेत भएको छ । बजार क्षेत्रको फोहोरमैला फाल्नको लागि तोकिएको स्थानमा व्यवस्थापन गर्न घेरबार चन्दननाथ नगरपालिका मार्फत डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न मुख्य मुख्य स्थानहरुमा फोहर मलाई संकेत सहितको डस्बिन समेत राख्ने निर्णय भएको हो । दीर्घकालिन रूपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी भइरहेको चन्दननाथ नगरपालिकाले जनाएको छ ।
अब तत्कालिन र दिर्घकालिन डम्पिङ साईडको व्यवस्था नहुने हो भने सुन्दर जुम्ला दिन प्रतिदिन कुरुप र दुर्गन्धित हुदै जाने स्थानीय बताउँछन् ।
चन्दननाथ नगरपालिका स्थापना भएपछि धेरै जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेका छन । यी सबै अधिकृतको एउटै आवाज थियो । ल्याण्डफिल साइड नहुँदा फोहोर व्यवस्थापन हुन सकेन । जनप्रतिनिधिले पहिलो एजेण्डा फोहोर व्यवस्थापनलाई बनाएका थिए । चुनाव जितेपनि सफा नगर बनाउन सकेनन् । नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतदेखि नगरप्रमुख र उपप्रमुख सबै जनप्रतिनिधिको स्थायी फोहोर व्यवस्थापन एजेण्डा बन्ने गरेको छ । तर अहिलेसम्म यो एजेण्डाले मूर्त रुप पाउन सकेको छैन । चन्दननाथ नगरपालिकामा बढ्दो जनसंख्या र सहरीकरण फैलिरहेको छ ।