
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – २ ओदीबासी बाँझो जमीन खनजोत गर्न थालेका छन् । अहिले कर्णाली प्रदेशले जमीन बाँझो राख्न नपाईने कार्यक्रममा ल्याएपछि उनीहरु बाँझो जमीन खनजोत गर्न थालेका हुन् ।
विश्वभर फैलिदो कोरोना भाइरसका प्रभाबका कारण विदेसिएका नागरिक गृह जिल्लामा फर्केका छन् । विदेशबाट फर्किको नागरिकलाई रोजगार दिनका लागि सरकारी तथा गैरसरकारी निकायले बाँझो जमीन खनजोत गर्ने गहरा सुधार जस्ता कार्यक्रम ल्याएर युवालाई रोजगार प्रदान गरिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।
बाँझो जग्गाको सदुपयोग हुने, भिरालो जग्गा गहरामा परिणत हुने, कृषि पेशाको वढवा हुने, आम्दानीमा वृद्धी हुने भएकाले सरकारी तथा गैरसरकारी निकायले यस्ता कार्यक्रम तर्थुमा गरेको उनले बताए ।
रैथाने वालीको संरक्षण हुने, स्वदेश फर्किएका नागरिकले काम पाउने, सामुहिक खेती प्रणलीको विकास हुनुका साथै साँझेदारीमा काम गर्न सजिलो हुने भएको अध्यक्ष शाहीको भनाई छ ।
हिमा गाउपालिका कृषि विकास शाखामार्फत चार लाख र कारितास जर्मनको आर्थिक सहयोग तथा कारीतास नेपाल र पेस नेपाल जुम्लाद्धारा संचालित एकीकृत खाद्य सुरक्षा विपत जोखिम न्युनिकरण, जलवायु परिवर्तन अनुकुलन परियोजनाको एक लाख गरी पाँच लाख बजेटमा बाँझो जमीन खनजोत गर्न थालिएको हो ।
बाँझो जमीन खनजोत तथा गहरा सुधार काममा ४८ जना स्थानीयको सहभागी रहेको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले बताए । उनले भने “चार वटा समुहमा विभाजन गरी सामाजिक दुरी कायम राख्दै काम गर्दै आएका छन् ।”