सवारी कारबाहीबाट १० लाखभन्दा बढी राजस्व

जुम्ला ः जिल्ला ट्राफिक कार्यालय जुम्लाले सवारी कारबाहीबाट आर्थिक वर्ष ०७६/७७ मा रु. १० लाख १४ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने एक हजार एक सय १३ वटा सवारीसाधन चालकलाई कारबाही गरी राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने एक सय १६ ट्रकबाट एक लाख १४ हजार, ९३ बसबाट ८५ हजार, एक सय ८३ जिप र कारबाट एक लाख ६२ हजार पाँच सय, ९५ ट्याक्टरबाट ८६  हजार, ४ सय २४ मोटरसाइकलबाट तीन लाख ८४ हजार ५ पाँच सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान लालबहादुर विकले बताए ।

त्यसैगरी दुई सय अटोबाट एक लाख ८० हजार र दुईवटा जेसिबीबाट दुई हजार  गरी १० लाख १४ हजार रुपैयाँ  राजस्व संकलन गरेको हो ।

कर्णाली राजमार्गको नाग्म–सदरमुकाम  खलंगा– जुम्ला सडकखण्डमा गुड्ने सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको प्रहरी हवल्दार कुशराज शाहीले बताए ।
गत आर्थिक वर्ष ०७५/७६ मा यो वर्षभन्दा बढी १७ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । उनले भने, ‘यो वर्ष लकडाउनका कारण कम भएको हो ।’

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस