
जुम्ला ः मास्क प्रयोग नगरी हिडडुल गर्ने १०९ जनालाई जुम्ला प्रहरीले कार्वाही गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार विहिबार मास्क लगाउन सचेत गरेपनि शुक्रबार १०९ जनालाई कार्वाही गरिएको हो । यसमध्ये ५२ जना बालबालिकालाई सम्झाएर पठाएको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरीवाना गराएर सम्झाएर पठाउने गरिएको हो ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले भने मास्क नलगाउने कम मात्र छन् । ९० प्रतिशतले मास्क प्रयोग गरेरै हिड्ने गरेका छन् । अधिकांशले खल्तीमा मास्क बोकेर हिड्ने तर प्रहरी देखेपछि मात्र प्रयोग गर्ने गरिएको पाइएको छ ।’
सदरमुकाम खलंगाको बालमन्दिर, कालेखोली चौँक र बसपार्कमा प्रहरी परिचालन गरिएको छ । प्रहरी नायव उपरीक्षक धामी भने, ‘मास्क नलगाउनेलाई समातेर सचेतना दिने, मास्क लगाउन भन्ने र अटेरी गर्नेलाई कार्वाही गर्ने गरिएको छ ।’
शुक्रबार नै मास्क प्रयोग नगरी हिडडुल गर्नेबाट १० हजार बढी राजश्व संकलन भएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आफैँ घरदैलोमा पुगेर मास्क वितरण गरेका थिए । उनले मास्क लगाएर कोरोना भगाउनको लागि आग्रह गरेका थिए । सामाजिक दुरी कायम गर्न र मास्क सेनिटाइजर र साबुन पानीले हात धुनको लागि सचेत पनि गराएका थिए ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहँदा जुम्लामा उच्च सतर्कता अपनाइएको हो । जुम्लामा ८ सय क्वारेन्टिन बेड छन् । एक सय २० बेडको आइसोलेसन छ । जुम्लाका ६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । ४ हजार ९१३ जनाको कोरोना परीक्षण गरिएको हो । अहिले पातारासी गाउँपालिकाको क्वारेन्टाइनमा ८ जना मात्रै बसेका छन् भने दुई हजार ७१५ जना घर फर्केको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।