जुम्ला : जुम्लाको सदरमुकाम खलंगामा नियमित विजुली आपूर्ति नहुदा दियालो बालेर राज्यको ध्यानाकर्षण गरिएको छ । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा हप्ता, महिना हुदै बर्ष दिनसम्म पटक पटक मेसिन विग्रेर विजुली आपूर्ति नहुदा दियालो बालेर विरोध जनाउनुका साथै राज्यका ध्यानाकर्षण गरिएको हो ।
२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको हो ।
विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा तथा विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति संयोजक राजबहादुर महतले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।
विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति तथा नागरिक समाज जुम्लाका अध्यक्ष महतले तत्कालित जेनेरेटरबाट विद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारण लाइन ६ महिना भित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने बताए । उनले टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले छानविन नभए कानुनी प्रक्रिया अगाडी बढाउने चेतवानी दिएका छन् ।
त्यसैगरी जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने जनाएका छन् ।
विद्युत तथा सञ्चार सम्वन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा सामग्री विझाउने जस्ता कार्यक्रम रहेका छन् ।