जुम्लाको चन्दनाथ र काठमाडौं महानगर बीच भगिनी साइनो स्थापना, पहिलो चरणमा डेढ करोड सहयोग


जुम्ला ः जुम्लाको चन्दननाथ नगरापलिका र काठमाडौँ महानगरपालिकाले एक आपसमा भगिनी (साइनो) सम्बन्ध स्थापना गरेका छन् । काठमाडौँ महानगरपालिकाका उपप्रमुखसहित प्रमुख विद्यासुन्दर शाक्य जुम्ला आएर चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवाल बीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी साइनो स्थापना गरेका हुन् ।


समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगरप्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गरिने जानकारी दिए । उनले भने, ‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ ।’
प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी साइलो स्थापना गरिएको उनको भनाइ छ ।


शाक्यले यसअघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिए ।
महानगरले यसअघि नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएको छ ।
भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य गर्ने शाक्यले बताए ।
उनले भने, ‘रारा, सेफोक्सुण्डोजस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ ।’
चन्दनथान नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा खुसी व्यक्त गरिन् । उनले भनिन् भगिनी साईनोले सकारात्मक भुमिका खेल्ने र यहाँका विकास निर्माणमा पनि टेवा पुग्ने छ । भगिनी सम्वन्ध स्थापना गर्दै कामठमाडौँ महानगरपालिकाले डेढ करोड सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । नगरप्रमुख सेजुवालले भनिन् उक्त बजेटले यहाँका पर्यटकिय पार्क निर्माण गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस