कारागारका कैदीवन्दी, कैद काट्दै सिप सिक्दै


जुम्ला ः कारागार जुम्लाका कैदी कैद काट्दै सिप सिक्दै आएका छन् । कैद भुक्तानपछि जिविकोपार्जन सहज गर्ने र व्यवसायिक बन्ने उद्देश्यका साथ सिप सिक्दै आएको हुन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले ४५ दिने हाते होजियारी (बुन्ने) सिप सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको छ । विभिन्न घटनाका २५ जना कैदीलाई सिपयूक्त तथा स्वारोजगार बनाउनका लागि हाते होजियारी सिप सिकाउन थालेको हो ।
हाते होजियारीका लागि दुई जना प्रशिक्षकको व्यवस्थापन गरी १२ पुसदेखि तालिम सुरु गरिएको निमित्त कार्यालय प्रमुख पदमप्रसाद उपाध्यायले बताए । उनले भने जिल्लामा उद्यमी सिर्जना गर्ने र स्वरोजगार बनाउने उद्देश्यका साथ ४५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ । तालिमपछि सहभागीलाई ९५ प्रतिशत हाजिरीको आधारमा प्रमाण पत्र पनि उपलव्ध गराउने व्यवस्था रहेको उनको भनाई छ ।
कारागारका कैदी नाइके खाम्बा रोकायाका अनुसार यहाँका कैदीवन्दीलाई सीप सिकाउन आवश्यक थियो । उनले भने कैद भुक्तानको जीवन वितरण यहाँका कैदीवन्दी घर फर्केपछि स्वरोजगार बनेर जिविकोपार्जनमा टेवा पुग्ने छ ।
जुम्लामा बलात्कार मुद्दाका कैदीवन्दी बढी रहेका छन् । यस घटनामा संलग्न व्यक्तिहरु २२ जना कैदी रहेका छन् भने १६ जना बन्दी गरी ३८ कैदीवन्दी रहेको कारागार जुम्लाका निमित्त जेलर धनकृष्ण खत्रीले बताए
त्यसैगरी कतव्र्य ज्यान मुद्दाका १८ जना कैदी र १५ जना वन्दी गरी ३६ जना कैदीवन्दी रहेका छन् । ज्यान मार्ने उद्योगमा १ जना कैदी ४ जना वन्दी, सवारी ज्यान १ जना कैदी र २ जना वन्दी, डाँका चोरीमा ४ जना कैदी, बहुविवाहमा ५ जना कैदी र ३ जना बन्दी कारागारमा छन् ।
लागु औषधका ७ जना कैदी र ७ जना वन्दी, ठगीमा एक जना कैदी, आत्महत्या गर्न दुरुत्साहन १ जना, हातहतियार खरखजना एक जना, संरक्षित नदीजन्यमा दुई जना बन्दी र पुराताव्तिक चोरी ३ जना बन्दी गरी ३ जना महिलासहित एक सय नौँ जना कैदीवन्दी रहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस