बेवारिस्से बृद्ध महिलाको ९ महिनादेखि ओडारमै बास,उद्दारमा जुट्दै प्रशासन,

सागर परियार ।

माता नाम बताउने एक बृद्ध महिला विगत नौ महिना देखि ओडारकै बास बस्दै आउनु भएको छ । चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओडार (गुफा) मा बस्दै आएकी हुन् । दैलेख जिल्ला स्थायी घर भएकी बृद्ध महिला गएको बैशाख १० गतेदेखि जुम्ला आएर उक्त ओडारमा बस्दै आएको बुझिएको छ । तर उनको खास घर कहाँ हो ? नाम के हो ? कहाँबाट आउनु भएको हो ? भन्ने बारे कुरा बताएकी छैनन् ।

अन्दाजी करिब ५५ वर्षिय बृद्ध महिलालाई चन्दननाथ नगरपालिका ३ सिम्खाडा गाउँका स्थानीयले पालैपालो घरबाटै खाना ल्याइदिएर ओडारमा पुराउने गरेको स्थानीय महिला जानकी रावलले बताईन् । उनले भने,“मानसिक सन्तुलन गुमेपनि नराम्रो व्यवहार गर्दिनन् । तर खुल्ला आकाशमुनी सुत्ने, वन जंगलतिर डुल्ने गर्छन् ।”

विगत ९ महिनादेखि गाउँलेहरुलेनै खाना खुवाउदै आएका छौ । तर अन्त कतै जानुहोस घरमा बस्नुहोस भन्दा नमान्ने गरेको स्थानीय महिला कृष्णा बुढ्थापाले बताए । उनका अनुसार चाडै उद्धार नभएको खण्डमा बृद्ध महिलाको बेवारिस्से महिलाको मृत्यु हुने अबस्था छ ।
यदपी बृद्ध बेवारिस्से महिलाले ओडारबाट अन्त कतै नजाने बताउदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताउनुहुन्छ । तर बढ्दै गएको चिसोले बृद्ध महिलाको उद्दारको विकल्प अरु छैन् ।

प्रशासनद्धारा राहत वितरण,उद्धारको तयारी
९ महिना देखि एक्लै ओडारमा बस्दै आएकी बेवारिस्से बृद्ध महिलालाई पहिलो चरणमा लत्ता कपडा सहित खाद्यन्न राहत वितरण गरिएको छ । सडक मानवहरुलाई राहत वितरण गर्ने क्रममै बेवारिस्से अबस्थामा ओडारमा बृद्ध महिला बेसिरहेको भन्ने थाहा पाएपछि विहिबार विहान प्रजिअ भुपेन्द्र थापा नेतृत्वको टोलीले ओडारमै पुगेर राहत वितरण गरेको हो ।

कठ्यांग्रिदो चिसोमा खुल्ला ओडारमा बसिरहेकी बृद्ध महिलालाई पहिलो चरणको राहतमा चामल एक बोरो,नुन, तेल, न्यानो कम्बल,ज्याकेट,चाउचाउ, विस्कुट,पाल,भाडा बर्तन, धोती, लगायतका राहत सामाग्री वितरण गरिएको प्रअिज भुपेन्द्र थापाले बताए ।
दिर्घकालिन रुपमा पुर्नस्थापना हुने व्यवस्था नभए सम्मका लागि राहत दिइएको उनको भनाई छ ।

बढ्दै गएको चिसोमा जतिबेला पनि तलमाथी हुने भएकाले तत्तकाल उद्दारमा जोड दिनु राज्यको दायित्व हो । हामी उद्दार कहाँ कहिले कसरी गर्ने भन्नेबारे तयारीमा जुटेको सिडिओ थापाले उल्लेख गरे । विपन्न तथा सडक मानवको व्यवस्थापन र उद्दार गर्नुको राज्यको दायित्व भएकाले बृद्ध महिलाको उद्दमार प्रशासनले विशेष चासो राख्दै पहल अघि बढाएको हो ।

सुर्खेत मानव सेवा आश्रममा पठाउने वा जिल्लामै व्यवस्थापन गर्ने बारे छलफल गरी चाडै उद्दार गर्ने प्रशासनको तयारी छ । विहिबारनै छलफल गरी एक साता भित्र सडक मानवको तथ्यांक संकलन गरी पुर्नस्थापनाका लागि पहल गर्ने निर्णय भएको प्रजिअ थापाले कर्णाली पोेष्टलाई जानकारी दिए ।

उता प्रशासनले दैनिक उपभोग्य अत्याआबश्यक खाद्य सामाग्री सहित लत्ता कपडा दिएपछि खुसी हुदै माता नाम बताउने बृद्ध महिलाले मरुन्जेल ओडारमै बस्ने बताईन् । उनले भनिन,“अब मथ्थै सामान पाए, अब कतै जानु नुपड्न्या भो, निकै खुसी छु, सहयोग गर्ने सबैलाई नमस्कार”
कर्णाली सरकारले सडक मानव मुक्त प्रदेश घोषणा गरिसकेको अबस्था समेत एक बृद्ध महिला बेवारिस्से अबस्थामा ओडारमै बस्दा समेत बेलैमा राज्यको ध्यान नजानु दुखद पक्ष हो । जुम्ला प्रशासनले बृद्ध महिलाको उद्दारमा देखाएको चासो प्रशंसा योग्य भएकाले चाडै पुर्नस्थापनाका लागि जुट्नु पर्नेमा पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहिले जोड दिए ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस