कर्णालीमा बिमा ः विपद्ले मरे २ लाख, घर भत्किए १ लाख

जुम्ला- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशका सबै नागरिक र कर्मचारीको बिमा सुरक्षित गरिएको बताएका छन् ।

 

२३ औँ भूकम्प सुरक्षा दिवस अवसरमा जुम्लामा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णालीबासीका सबै नागरिकको बिमा कार्यक्रमअन्तर्गत बिमा गरिने लागेको बताएका हुन् ।

कर्णालीका कोही पनि नागरिक विपद्बाट मृत्यु भए २ लाख रुपैयाँ रकम दिने बिमा प्याकेज प्रभावकारी र नमुना भएको उनको दाबी छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद्मा मृत्यु भए २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन थालिएको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग बिमा सम्झौता भइसकेकाले कार्यान्वयन सुरु भएको जनाएको छ ।

 

विपद्ले मृत्यु भएदेखि घर भत्किएसम्म राहत 

 

कर्णाली प्रदेशमा विपद् आइलागेर घर भत्किए १ लाख रुपैयाँ पाउने व्यवस्थाअनुसार हालसम्म १ हजार ३ सय घरलाई यस्तो रकम दिने निर्णय गरिएको छ ।

कार्यक्रममा मन्त्री भण्डारीले जुम्लामा पर्वतीय प्रहरी प्रतिष्ठान सुरु हुने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा ठूलो योजना र उपहार दिने तयारी भइरहेको जानकारी दिए ।

 

सुर्खेतमा बने ६ सय १४ घर 

आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सुर्खेतमा बाढीका कारण घर गुमाएका र अलपत्र परेका १ हजार ४५ घरमध्ये ६ सय १४ जना नागरिकको कर्णाली सरकारले घर निर्माण गरिदिएको बताए ।

 

कालीकोटको पलातालगायत क्षेत्रमा आगलागी हुँदा क्षति भएका घर निर्माण गरिएको हो । मन्त्री भण्डारीले दिवस अवसरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापना तीनै विषयमा जोड दिन आवश्यक रहेको बताए ।

प्रदेशसभा सांसद पदम रोकायाले अहिलेको विकास गर्दा विनासलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले डोजरले प्रकृतिलाई नास गर्दै आएको भन्दै होसियार हुन आवश्यक रहेको बताए । ‘अहिले नै कस्ता घर बनाउने हो । त्यस विषयमा नागरिक सचेत हुन सके ठूलो क्षतिबाट जोगिन सकिन्छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भूकम्प सुरक्षाका लागि दीर्घकालीन योजना स्थानीय सरकारसम्म पु¥याउन आवश्यक रहेको बताए ।

 

आगलागी उद्धार डेमो प्रदर्शन 

दिवस अवसरमा नेपाली सेनाले घर आगलागी भएपछिको उद्धारको विषयमा डेमो प्रदर्शन गरेको थियो । नन्दाबक्स गणको विपद् विशेष टोलीले घर आगलागीपछि उद्धार तथा स्वास्थ्य चौकीसम्म पुर्‍याउने विषयमा भिडियो देखाएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरीले प्रदर्शनीमा राखेको विपद्मा आवश्यक उद्धार सामग्रीको स्टल मन्त्री भण्डारी, सांसद रोकायासहित सरोकारवाला निकायका पदाधिकारीले अवलोकन गरे । कार्यक्रममा ‘म मेरो घर लगाउँदा भूकम्पमैत्री बनाउँछु’ प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस