जुम्ला । प्रहरीको कुटाइबाट जुम्ला गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १३ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानविन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेको छ । गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगनाको संयोजकत्वमा रहेको छानविन समिति जुम्ला पुगेको हो ।
समितिमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ र राष्ट्यि अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी छन् ।
टोलीले जुम्ला पुगेर छानविनको काम सुचारु गरेको छ । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्ले र पत्रकारहरुसंग छलफल गरेको थियो । अनुसन्धान नसकिँदासम्म टोली जुम्लामै बस्ने प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
अन्तिम छानविन नहुँदासम्म टोलीले गहन रुपमा घटनाको सत्य तथ्य छानविन गर्ने समितिका संयोजक माधवप्रसाद ढुंगानाले बताए । उनले भने, ‘छानविन समितिले दोषी पत्ता लगाउँछ । यही गतिमा अनुसन्धान अघि बढ्छ । भइसकेको घटनाको अनुसन्धान निष्पक्ष हुन्छ । वास्तविक पीडितको न्याय र राहतको पक्षमा छानविन समितिको अनुसन्धान केन्द्रीत हुनेछ ।’
प्रहरी उपरिक्षक श्रेष्ठले घटनाको वस्तु निष्ठा अनुसन्धान हुने बताए । उनले भने, ‘आगामी दिनमा घटना नहोस । घटेको घटनाको निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुनेछौँ ।’ छानविन समितिको टोली मंगलबार जुम्ला आउने भनेता पनि जहाज रद्ध भएका कारण आउन सकेको थिएन ।
प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको विषयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले गम्भीरता पुर्वक लिएको थियो । फलस्वरुप गृहन्त्रालयले उच्चस्तरीय छानविन समिति बनायो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, “यो छानविन समितिले गहिरो तरिकाले अनुसन्धान गरेर वास्तविक तथ्य बाहिर ल्याउनेछ । छानविन टोली जुम्ला पुगेकोले अव निष्पक्ष छानविन हुने अपेक्षा गरिएको छ ।’
प्रशासन र पिडितका आफन्तबीच भएको वार्तापछि तत्काल छानविन समिति गठन गर्ने, पिडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कार्वाही गर्ने निर्णय भएको थियो ।
छानविन टोलीले घटनासंग जोडिएका सबै पक्षसंग छलफल तथा भेटघाट गर्ने छ । अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने छानविन समितिले जनाएको छ । मृतक बालकलाई शारिरिक तथा मानसिक यातना दिएको आरोपमा प्रहरी जवान कृष्ण अधिकारीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक बुढाले गएको माघ १८ गते मोबाईल चोरेको आरोपमा मृत्तक बालक पदम रोकायालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरी कार्यालयबाट घर फर्किए लगत्तै बालकको खुट्टा र शरिर सुनिएर निलडाम देखिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको हो ।
प्रतिष्ठानमा चेकजाँचपछि पैतालामा पाईप,र लाठ्ठीले शरिर सुनिएको विरामी पुर्जामा उल्लेख छ । पछि एकाएक श्वासप्रश्वासमा समस्या भई शरिरमा गहिरो चोटले गर्दा मुटु, फोक्सो तथा मस्तिष्कमा रगत जाम भएर फागुन ५ गते मृत्यु भएको आफन्तले जारी विज्ञेप्ती उल्लेख गरेका थिए ।