सागर परियार ।
यहाँको चन्दननाथ नगरपालिका ४ स्थित अशोक नमुना आधारभुत विद्यालयमा ३६ लाख लगानीमा चार कोठे पक्की विद्यालय भवन बन्ने भएको छ । मेयर कान्तिका सेजुवालले बुधबार चार कोठे भवनको शिलान्यास गरे संगै निर्माण प्रक्रिया अघि बढेको हो । सरकारी मेयर कान्तिका सेजुवालले अशोक नमुना विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको र भवन जीर्ण भएकोले पठनपाठनलाई सहज गर्न नयाँ भवन निर्माण गर्न थालिएको बताईन् ।
उनले भनिन,“नगरभित्र नीजि विद्यालय धेरै हुँदा सरकारी विद्यालयमा विद्यार्थी संख्या न्युन थिएन् । पछिल्लो समय व्यवस्थापन समिति क्रियाशिल भएपछि विद्यार्थी ह्वात्तै बढेका छन् । त्यसैले सुविधा सम्पन्न विद्यालय भवन निर्माण थालेका छौ ।”विद्यालय भवन निर्माणका लागि नगरपालिकाले चालु आवमा ३६ लाख बजेट विनियोजन गरेको मेयर सेजुवालको भनाई छ ।
मैत्रीपुर्ण कक्षा कोठा सहितको विद्यालय भवन चालु आवको असार सम्म निर्माण भएर सकिने समेत मेयर सेजुवालको भनाई छ । व्यवस्थापन फितलो भएकै कारण एक डेढ वर्ष पहिले २७ जना मात्रै विद्यार्थी थिए । सबै विद्यार्थी सदरमुकाममा रहेका चार नीवि विद्यालयले तानेका थिए । तर नयाँ विव्यसमा यूवा महेन्द्र कार्कीको टिम आएपछि डेढ वर्षमै विद्यार्थी संख्या २ सय ५० पुगेको छ ।
विव्यवस अध्यक्ष महेन्द्र कार्कीले भने,“डेढ वर्ष पहिले २७ जना विद्यार्थी मात्रै थिए । नयाँ विव्यवस आएपछि अहिले २ सय ५० पुगेका छन् । विद्यार्थी संख्या बढेपछि भवन अभाव भएको थियो ।” अब नगरपालिकाको पहलमा ४ कोठे भवन बन्ने भएपछि राहत पुग्ने अध्यक्ष कार्कीको भनाई छ ।
सरकारी विद्यालयमा बालबालिकाको पहुँच बृद्धिका लागि व्यवस्थापन पहिलो प्रथामिकता हो । अशोक नमुना आधारभुत विद्यालयमा नयाँ विव्यस आएपछि अग्रेजी माध्यमबाट पढाई शुरु भयो । बालमैत्री वाताबरण पनि सृजना भएपछि विद्यार्थी ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक भगवती श्रेष्ठले बताइन् ।