कोहलपुर दुर्घटना अपडेट : मृत्यु भएका ५ जना मध्ये ४ जनाको सनाखत

नेपालगञ्ज ।  बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिपर ठोक्किँदा मृत्यु भएका ५ जना मध्ये ४ जनाको सनाखत भएको छ ।
शुक्रवार बेलुका सवा ६ बजेतिर बस र टिपर ठोक्किँदा सुर्खेत साटाखानी ७ का ४१ वर्षीय जीवन कुमार बिक, कोहलपुर नगरपालिका वडा नम्बर १२ का  टिपर सहचालक २१ वर्षीय उदय बाँठा,  टिपर चालक कोहलपुर ३ का २५ वर्षीय खगेन्द्र बहादुर सुनार,  झापाको मेची नगरपालिका १० का बस मालिक ४५ वर्षीय छत्र  बहादुर कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्दाजी ३५ वर्षीय महिलाको नाम ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ ।
विकको घटनास्थलमै र अन्य चार जनाको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको हो । दुर्घटनामा ३७ जना घाइते भएका छन् । घाइते मध्ये ७ जना अति गम्भीर र १४ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मे।१ ख। ३३४७ नम्बरको बस र बालुवा लोड गरेर कोहलपुरतर्फ जाँदै गरेको टिपर एक आपसमा ठोक्किएका थिए । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस